Thursday, November 26

यदि तपाईंलाई कोरोना संक्रमण भएमा के गर्ने ? कोरोनाको उपचार र भ्याक्सिनमा के–के प्रगति भएका छन त ?

November 8, 2020 183

कुन अवस्थामा पीसीआर टेस्ट गर्ने ?

यदि तपाईंको कुनै संक्रमितसँग भेट भएको छैन तथा लक्षण पनि छैन भने पीसीआर टेस्ट गर्नु आवश्यक छैन । यदि कुनै संक्रमितसँग भेटघाट भएको छ वा सामान्य लक्षण देखिएको छ भने तुरुन्तै पीसीआर टेस्ट गर्दा गलत रिपोर्ट आउन सक्छ । त्यसैले संक्रमितसँग भेटघाट भएको वा लक्षण देखिएको ५ दिनपछि पीसीआर टेस्ट गर्नु उपयुक्त हुन्छ । त्यस्तै स्वाद र बासना हराएमा, सास फेर्न गाह्रो भएमा वा उच्च ज्वरो आएमा तुरुन्त टेस्ट गर्नुपर्दछ ।

संक्रमित व्यक्तिले १२ – १४ दिनपछि २४ घण्टाको अन्तरालमा दुईपटक पीसीआर टेस्ट गर्दा नेगेटिभ आयो भने संक्रमणमुक्त भएको मानिन्छ ।

पीसीआर टेस्ट रियल टाइम टेस्ट हो अर्थात् नमूना दिनेबेलासम्म शरीरमा भाइरसको जिन छ कि छैन, त्यो हेर्ने हो । तसर्थ नमूना दिएपछि रिपोर्ट आउने बेलासम्म आइसोलेसनमा बस्नु सुरक्षित हुन्छ । नेगेटिभ रिपोर्ट आयो भने जनस्वास्थ्यका मापदण्ड अपनाएर संक्रमित हुनबाट बच्नु पर्दछ ।

 

पीसीआर टेस्ट पोजिटिभ आयो भने आत्तिनु पर्दैन । सन्तुलित आहार, पर्याप्त निद्रा, हल्का व्यायाम, लक्षण अनुसारको उपचार तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने भिटामिन सी, जिंक, भिटामिन डी, गुर्जो, अश्वगन्धा, तुलसी, दालचिनी, जेठिमधु, त्रिकटु आदिको चिकित्सकको परामर्श अनुरूप सेवन गर्नु स्वस्थकर हुन्छ । कहिल्यै पनि आफैँ वा युट्युब / सामाजिक सञ्जाल हेरेर तथा नन मेडिकल व्यक्तिले दिएको सल्लाहअनुसार औषधि सेवन गर्नु हुँदैन ।

लक्षण व्यवस्थापन कसरी गर्ने ?

हाम्रो शरीरको नर्मल तापक्रम ९८.४ डिग्री फरेनहाइट अर्थात् ३७ डिग्री सेल्सियस हो । ज्वरो आएजस्तो भएपनि तापक्रम ९८.४ डिग्री छ भने पारासिटामोल प्रयोग गर्नु पर्दैन । जब शरीरको तापक्रम १०० डिग्री हुन्छ अनि मात्र पारासिटामोल खानु राम्रो हुन्छ । टाउको दुखेमा, घाँटी दुखेमा वा शरीर दुखेमा पनि पारासिटामोल खानु उपयुक्त हुन्छ । रुघाका लागि प्रयोग हुने एन्टी कोल्ड ट्याब्लेटमा पनि पारासिटामोल ५०० मिग्रा मिसाएको हुन्छ । दुखाइ वा ज्वरोमा खाने फ्लेक्सन/ब्रुसेट आदिमा पनि पारासिटामोल मिसाएको हुन्छ । तसर्थ यी २ वा ३ औषधिसँगै खानु हुँदैन । सँगै खाएमा शरीरको तापक्रम घटेर खतरनाक अवस्था आउन सक्छ ।

खोकीको लागि सामान्य कफ सप्रेसान्ट तथा एलर्जीमा प्रयोग हुने ( एन्टीहिस्टामिनिक ) औषधि स्वास्थ्यकर्मीको परामर्शमा लिन सकिन्छ । खोकीको औषधि पनि विभिन्न प्रकारका हुन्छन् जस्तै सुख्खा खोकीको लागि, खकार आउने खोकीको लागि, सास फुल्ने खोकीको लागि । स्वास्थ्यकर्मीको सल्लाहमा आफ्नो अवस्था अनुसारको औषधि खानु उपयुक्त हुन्छ । खाना नरुचेमा विभिन्न प्रकारका खाना जस्तै फलफूल, सागसब्जी, दूध, अण्डा, ड्राइ नट्स, फ्रेस जुस, सुप आदि नियमित खाएर पोषण पुर्‍याउनु पर्दछ ।

नियमित रूपमा तापक्रम तथा अक्सिजनको लेभल हेर्नुपर्छ । यदि अक्सिजन ९२ भन्दा कम भएमा घोप्टो परेर सुत्ने, झ्याल खोल्ने, पानी कम खाने गर्नुपर्छ ।

खोकी लागिरहेमा, छाती दुखेमा, सास फेर्न गाह्रो भएमा वा ज्वरो आउने / जाने भएमा एकपटक कोभिड अस्पतालको फिभर क्लिनिक वा फ्लु क्लिनिकमा गएर रगत, पिसाब तथा छातीको एक्स रे जाँच गर्नुपर्छ । यी लक्षण उपेक्षा गर्दा कहिलेकाँही छातीको संक्रमण / निमोनिया / फोक्सोमा पानी जम्मा हुने जस्ता समस्या उत्पन्न हुनसक्छन् ।

कस्तो अवस्थामा अस्पताल जाने ?

– पारासिटामोलले ज्वरो नियन्त्रण नभएमा
– धेरै पखाला लागेर जलवियोजन भएमा
– सास फेर्न गाह्रो भएमा
– अक्सिजनको लेभल ९२ भन्दा तल भइरहेमा
– निमोनियाको लक्षण देखिएमा
– बेहोश भएमा
– बेसुर भएमा
– कुनै पनि लक्षणले गाह्रो भएमा

समयमै अस्पताल पुगेमा आईसीयू तथा भेन्टिलेटरमा जाने अवस्था नआउन सक्छ ।

मनोबल कसरी बढाउने ?

पीसीआर पोजिटिभ आउँदैमा कोभिड १९ लाग्दैन । तसर्थ डराउनु जरुरी छैन । संक्रमणलाई रोगमा जान नदिन उचित आहारविहार तथा व्यवहार गर्नुपर्दछ । एकजना चिकित्सकको सम्पर्कमा रहनु राम्रो हुन्छ । भ्रम र हल्लाको पछाडि लाग्नु हुँदैन । नकारात्मक समाचार नहेर्ने / नपढ्ने, योग / ध्यान / संगीत / पठन / लेखन आदिमा व्यस्त रहेर मनलाई ननकोभिड बनाउनु पर्दछ । अनावश्यक सूचना तनावको स्रोत हो, तसर्थ दिनमा १-२ पटक मात्र समाचार हेर्नु पर्याप्त हुन्छ । संक्रमित र मृतकको संख्या सुनेर डर मान्नुपर्दैन । हरेकको शरीर छुट्टै प्रकृति र इम्युनिटीको हुन्छ । आधिकारिक सूचना र सल्लाहमा विश्वास गर्ने बानीको विकास गर्नुपर्छ ।

हामीलाई कोरोना भाइरससँग डर लागेको हैन । हाम्रो डर मृत्यु हो, उपचारमा आउनसक्ने सास्ती हो । नेपालको सन्दर्भमा भने हो भने यसको मृत्युदर ०.६ % मात्र छ । जेष्ठ नागरिक तथा दीर्घ औषधिसेवीहरूले पनि कोभिड १९ लाई सजिलै जित्नुभएको छ । हाम्रो पोषण, व्यायाम र तन्दुरुस्तीले रोगलाई परास्त गर्ने हो । तसर्थ सकारात्मक सोच, उच्च मनोबल र आशावादी प्रवृत्ति विकास गर्नु जरुरी छ ।

धेरै नै चिन्ता लागेमा, निद्रा नलागेमा, डर लागेमा, मुटुको ढुकढुकी धेरै बढेमा तथा धेरै अत्यास लागेमा मनोपरामर्शविद् वा मनोरोग विज्ञ वा चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।

संक्रमितको धर्म

आफूबाट एकजनालाई पनि रोग नसरोस् भनेर हरदम शतर्क र सजग रहनुपर्छ । अन्य व्यक्तिलाई रोग नसार्नु ठूलो योगदान हो । यसबाट मनमा पोजिटिभ भाइब उत्पन्न हुन्छ, जसले गर्दा आफूलाई पनि सन्तुष्टि मिल्छ । त्यस्तै आफूसँग सम्पर्क भएका व्यक्तिलाई संक्रमित भएँ भनेर खबर गर्नुपर्छ ।

उहाँहरूलाई सम्पर्क भएको ५ दिनपछि पीसीआर टेस्टका लागि अनुरोध गर्नुपर्दछ । होम आइसोलेसनमा बसेका बेला जम्मा भएको फोहोर दैनिक पोलिथिन ब्यागमा एयर टाइट हुने गरी राख्ने अनि त्यसको ७२ घण्टापछि मात्र फोहोर संकलन गर्ने ठाउँमा दिनुपर्दछ । निको भएपछि कोठाका हरेक सामान, कपडा, विस्तारा तथा कोठालाई संक्रमणरहित बनाएर छोड्नुपर्छ । आफू निको भएको २ हप्तापछि रक्तविज्ञसँग सम्पर्क गरेर प्लाज्मा दान गर्‍यौं भने अन्य व्यक्तिको जीवन बच्छ । प्लाज्मा दान गर्दा स्वास्थ्यमा कुनै पनि असर पर्दैन ।

छिमेकी तथा आफन्तको धर्म

कतैबाट शरीरमा भाइरस प्रवेश गर्नु कुनै पाप तथा अनैतिक कार्य होइन । हामी जो कोहीलाई जुनसुकै बेला भाइरस संक्रमण हुनसक्छ । संक्रमितलाई माया, प्रेम र ख्यालको जरुरी हुन्छ । यस्तो अवस्थामा संक्रमितलाई समयसमयमा फोन गर्ने, समस्या सोध्ने तथा केही परे हामी छौं भनेर ढाडस दिनु आवश्यक हुन्छ । परिवार नै संक्रमित भएको छ भने वा कुनै एक्लै बसेको व्यक्ति संक्रमित भएमा ठूलो समस्या हुन्छ ।

त्यो अवस्थामा छिमेकी तथा आफन्तले खानेकुरा, औषधि आदिको व्यवस्था गरिदिनु पर्दछ । गाह्रो भएमा एम्बुलेन्स बोलाएर अस्पताल पठाउने, खर्चको अभाव भएकालाई समुदायले पैसा उठाएर सहयोग गर्ने, अस्पतालमा रहँदा पनि सम्पर्क गरिरहने तथा उसले काम गर्ने ठाउँमा उपचार र छुट्टीका लागि अनुरोध गर्ने लगायतका अमूल्य सहयोग गर्न सकिन्छ । यस्तो आत्मीय व्यवहार र सहयोगले संक्रमितको मनोबल बढ्छ, समुदायमा प्रगाढ सम्बन्ध विकास हुन्छ तथा भविष्यमा आफूलाई गाह्रो परेमा धेरै सहयोगी हात हुन्छन् । असहायलाई सहयोग गर्नुभन्दा ठूलो धर्म अरू केही छैन ।

संक्रमितको अर्को पीसीआर टेस्ट

१४ दिन होम आइसोलेसनमा बसेपछि पीसीआर टेस्ट गर्नु राम्रो हुन्छ । यदि नेगेटिभ आयो भने भाइरसमुक्त भएको अवस्था थाहा हुन्छ । पोजिटिभ आएमा सीटी भ्यालु ३० भन्दा माथि छ भने त्यो नेगेटिभसरह नै हो । नष्ट भएका भाइरसका टुक्रा, अवशेष आदिका कारण पोजिटिभ देखिएको हो । यो अवस्थामा अरूलाई संक्रमण सर्दैन तथा आफूलाई पनि हानी गर्दैन ।

थप एक हप्ता प्राणायाम, अनुलोम/विलोम लगायतका श्वासप्रश्वासका अभ्यास गर्ने, घाम ताप्ने, पोषिलो खाना खाने तथा तनावरहित समय बिताएर टेस्ट गर्दा नेगेटिभ आउँछ । यति गर्दा पनि पोजिटिभ देखियो तर आफूलाई लक्षण छैन भने फेरि परीक्षण गर्नु पर्दैन ।

संक्रमितको चाँदीको घेरा

कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । संक्रमित नहुनु थियो तर भइयो भने यसलाई सकारात्मक रूपमा लिनुको विकल्प छैन । एकपटक संक्रमण भएपछि हाम्रो शरीरमा कोरोना भाइरसविरुद्धको एन्टीबडी बनेको हुन्छ ।

अहिलेसम्मको अध्ययन अनुसार उक्त एन्टीबडीले ३–४ महिना काम गर्छ । यो अवधिमा सामान्यतया संक्रमण हुँदैन, भयो भने पनि निको भएका व्यक्तिको एन्टीबडीले भाइरसलाई परास्त गर्छ । तसर्थ एकप्रकारको सुरक्षा प्राप्त हुन्छ । हाम्रो एन्टीबडी कति छ ? कहिलेसम्म छ ? भनेर एन्टीबडी टाइटर टेस्ट गर्न मिल्छ ।

यो भाइरस नयाँ भएको तथा पर्याप्त अध्ययन नभएकोले निको भएपनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्दछ ।

उपचारमा आशालाग्दो प्रगति

कोभिड १९ को उपचारमा चिकित्सा विज्ञानले फड्को मारिरहेको छ । रेमडेसेभिर, फाभिपिरारिर, मोल्नुपिराभिर, आइभरमेसेटिन, इन्टरफेरोन्स, स्टेम सेल्स लगायतका औषधि सुलभ भइरहेको छ । डेक्सामेथासोन लगायतका लाइफ सेभिङ ड्रग निकै प्रभावकारी देखिएका छन् । कोभिडको कारण भित्रि अंगमा रगत जम्ने समस्यामा एन्टिकोगुलेन्टस औषधि तथा प्लाज्मा थेरापी पनि उपयोगी वरदान सावित भएका छन् ।

अन्य देशमा मोनोक्लोनल एन्टीबडीको पनि सफल प्रयोग भइरहेको छ । त्यस्तै भिटामिन सी, डी तथा जिंकको प्रयोगले सिकिस्त बनाउनेको संख्यालाई निकै घटाएको छ । गुर्जो, अश्वगन्धा, जेठी मधु, त्रिकटु लगायतका हर्बल मेडिसिनले पनि गम्भीर हुनेको संख्या घटाएको छ । भारत, चीन, श्रीलंका, मदागास्कर लगायतका देशमा यी हर्बल मेडिसिनको अनुसन्धान तथा तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको छ ।

यति मात्र हैन,स्वास्थ्यकर्मीहरू कोरोनाको उपचारमा अभ्यस्त भएका छन् । बेड अडिट गर्ने र प्रणाली विकास गर्ने हो भने आइसोलेसन बेड, अक्सिजन बेड, आईसीयू बेड तथा भेन्टिलेटरको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

पाखुरा ताक्दै खोप

विश्वका करीब २०० वटा ल्याबमा कोरोना भाइरसविरुद्धको खोप निर्माण भइरहेको छ । यीमध्ये ३६ वटा खोपको सुरक्षा तथा मात्रा प्रमाणित भएको छ, १४ वटा खोपको प्रभावकारिता पुष्टि भएको छ, ११ वटा खोप ठूलो संख्यामा परीक्षण भइरहेको छ भने ६ वटा खोप सीमित जनसंख्यामा लगाइएको छ ।

पछिल्लो रिपोर्टअनुसार चीनका ३ वटा खोप ( सिनोभ्याकका २ सिनोफार्मको १ ) वटा, बेलायतको अक्सफोर्ड युनिभर्सिटी / एस्ट्राजेनेकाको खोप, अमेरिकाको मोडेर्ना र बायोटेक / फोसुन / फाइजरको संयुक्त खोप गरेर यी ६ वटा खोप अन्तिम चरणको रिजल्टपछि स्वीकृतिको चरणमा पुग्नेछन् । खोपको मास प्रोडक्सन, प्याकिङ तथा वितरणका लागि WHO, UNICEF, GAVI, COVAX, CEPI लगायतका संघ-संस्थाले आवश्यक तयारी गरिरहेका छन् ।

चीनमा ३ वटा कम्पनीबाट ठूलो मात्रामा खोप उत्पादन हुने, भारतमा विभिन्न देशको खोप प्लान्टमा काम भइरहेको, GAVI नामक संस्थाले २० % खोप अल्पविकसित राष्ट्रका लागि सुरक्षित गरेको तथा चीन, भारत, रुस लगायतका देशले नेपालमा खोप उपलब्ध गराउन इच्छुक रहेको अवस्थामा खोप आएपछि नेपालले छिटो खोप पाउने अवस्था छ ।

चीन र भारतको भू-राजनीति तथा खोप कूटनीतिका कारण पनि नेपाल प्राथमिकतामा पर्ने देखिएको छ । सरकारले यी खोप कम्पनी, उत्पादक देश तथा अन्तराष्ट्रिय संघसंस्थाहरूसँग निरन्तर सम्पर्क र संवादमा रहेर ३ करोड नेपालीका लागि आवश्यक डोज सुनिश्चित गर्नुपर्दछ ।

source:thefortisclinic

प्रतिकृया दिनुहोस्