Wednesday, December 2

लामो दूरीमा प्रत्येक ६/६ घण्टामा दुई चालकले चलाउनु पर्ने व्यवस्थालाई कडाइ गरिने

November 9, 2020 44

काठमाडौं । लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

विभागले आज सूचना जारी गर्दै प्रस्थान विन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्य रूपमा दुई चालक नराखेको पाइए कारवाही गर्ने जनाएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक ६/६ घण्टामा पालैपालो सवारी चलाउनुपर्ने व्यवस्था छ ।

एउटा चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटनाको दर बढेको विभागको भनाइ छ । विभागले लामो दूरीमा चल्ने यातायातको साधनमा दुई चालकको व्यवस्था गर्न सम्बन्धित सवारी धनीलाईसमेत निर्देशन दिएको छ ।

त्यस्तै विभागले मध्यम दूरीका चल्ने सवारीसाधनले पनि प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्थालाई पनि कडाइ गर्ने जनाएको छ ।

ऐनमा चार घण्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था गरिएको छ ।

source :https://janasamachar.com

प्रतिकृया दिनुहोस्