Tuesday, November 24

प्रतिनिधिसभाकाे राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल मात्र लेख्ने निर्णय खारेज गर्न सरकारलाई निर्देशन

November 9, 2020 67

काठमाडौं । प्रतिनिधिसभाकाे राज्यव्यवस्था तथा सुशासन समितिले नेपालको औपचारिक नामका सम्वन्धमा मन्त्रिपरिषद्को पछिल्लो निर्णय खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारको निर्णयबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग जानकारी लिएपछि समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो । बैठकपछि समितिका सभापति शशी श्रेष्ठले भने, ‘सरकारको पछिल्लो निर्णयले अन्यौलता, अविश्वास, आशंका उत्पन्न गरेको हुँदा ‘नेपाल’ मात्रै लेख्नुपर्ने आवश्यकता र औचित्यताको पुष्टि हुन नसकेकोले उक्त निर्णय खारेज गर्न भनिएको हो ।’

सो अवसरमा मन्त्री ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउँदै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको शासन प्रणाली हो । नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन’ धारणा राखे ।

यसअघि बैठकमा सदस्यहरुले उक्त निर्णयलाई पुरानो राजनीतिक प्रणालीका पक्षधरले स्वागत र समर्थन गर्नुले गणतन्त्रका लागि बलिदान दिने निराश हुनु पर्ने हो कि भन्ने आशंका पैदा गरेकाले सो निर्णय कार्यान्वयन नगर्न सल्लाह दिनु उचित हुने सुझाव दिएका थिए ।

राजनीतिक दलहरुबीच अविश्वास बढिरहेकै बेला सरकारबाट भएको उक्त निर्णयले आमजनतामा संशय उत्पन्न गरेकोले खारेज गर्नुपर्ने धारणा राखेका थिए । मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम नेपाल मात्र लेख्ने निर्णय गरेपछि समितिले त्यसबारे परराष्ट्रमन्त्रीसगँ जानकारी माग गरको हो ।

सरकारकाे याे निर्णयकाे राजनीतिक दलहरुले विराेध गर्दै खारेजीकाे माग गरेका छन् । निर्णय जनताकाे बलिदानकाे अपमान भएकाे उनीहरुकाे तर्क छ ।

तस्बिर : रासस

source:https://sanjalkhabar.com

प्रतिकृया दिनुहोस्