Friday, December 3

गायिका समीक्षासँगको प्रेम, धम्की र विवाहबारे अभिनेता पलले खोले मुख, दिए यस्तो जानकारी

October 25, 2021 124

काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली सिने जगतमा दुई कलाकार चर्चाको शिखरमा छन्। ती हुन् नायक पल शाह र गायिका समीक्षा अधिकारी। उनीहरुबीच प्रेमको मात्र चर्चा चलेको भए धेरैलाई सामान्य लाग्थ्यो होला। किनकि पलको नाम उनले काम गरेका अधिकांश अभिनेत्रीसँग जोडिन्छ। तर कुरो अर्कै आएको छ।

पलले समीक्षालाई छोड्न खोजेपछि समीक्षा रिसाएकी र उनले धम्कीसमेत दिएको हल्ला चलेको छ। समीक्षाले पललाई यदि आफूसँगको प्रेम सम्बन्ध स्वीकार नगरे आफूसँग रहेका फोटो–भिडियोहरू बाहिर ल्याइदिने र पुलिस केससमेत गर्ने भनी धम्की दिएको उनीहरु निकट स्रोतको दाबी छ। दर्शकमाझ रियल हिरोको छवि बनाएका पल त्यसबाट झस्किए।

त्यसपछि समीक्षाको आफन्त पर्ने एक पूर्वगृहसचिवको रोहबरमा उनीहरूबीच विवाहको मौखिक समझदारी भएको बताइएको छ। त्यतिमात्र होइन दुई परिवार र पत्रकारको उपस्थितिमा लिखित समझदारी पनि भएको चर्चा चलेको छ। दुई वर्षपछि समीक्षा बालिग भएसँगै विवाह गर्ने गरी कागज भएको छ।

तर यसबारे के भन्छन् अभिनेता पल ? यस्तो छ पलले नेपालप्रससँग गरेको कुराकानी :

समीक्षा अधिकारी र तपाईंको सम्वन्धको चर्चा व्यापक नै हुन थाल्यो, वास्तविकता के हो ?

मैले पनि बाहिरबाट सुनेको हल्ला हो । तर, हामीबीच त्यस्तो केही छैन । हामीले म्युजिक भिडिओमा एउटा टिममा बसेर सँगै काम गरेका हौं । टिममा काम गर्दा नजिक भइन्छ । सँगै बसिन्छ, खाइन्छ । त्यो स्वाभाविक हो । अफेयरको कुरा चाहिँ विल्कुल सत्य होइन । मेरा दुश्मनहरूले यस्तो नचाहिँदो प्रचारवाजी गरिरहेका छन् ।’

हावा नचली त पात हल्लिदैन भन्छन् नि ?

समीक्षाले मलाई अभिभावकको रूपमा सम्मान गर्छिन् । मैले पनि उसलाई सपोर्ट गर्छु । यसलाई गलत नजरले हेरिएकोमात्र हो । समीक्षाले मलाई ‘पल जी’ भनेर सम्बोधन गरेका कारण पनि धेरै मान्छेलाई शंका लाग्यो होला । तर, त्यस्तो केही पनि होइन ।

पछिल्लो समय तपाईंहरू दुवैजना मिडियाबाट तर्किने, प्रेस मिटमा नआउने गरिरहनुभएको चाहिँ किन ?

त्यो कारणले हुँदै होइन । म त विजी भएर नै प्रेसमिटमा नगएको हो । समीक्षा किन नगएको हो उसलाई नै सोध्दा राम्रो हुन्छ । तर, उसले पनि भनेको छ कि त्यस दिन रेकर्डिङ भएकाले जान नपाएको भनेर । हावा तालमा अनुमान लगाउन भएन ।

भविष्यमा तपाईंहरूको विवाहको सम्भावना नै छैन त ?

अहिले त्यस्तो केही पनि प्लानिङ गरिएको छैन । तर, भविष्य त कसले देख्न सक्छ र ?

यति हल्ला चलिसकेपछि आफ्नो तर्फबाट स्पष्टीकरण दिने विचार गर्नुभएको छ ?

मैले यसलाई ठूलो इस्यू नबनाउँ भनेर कतै नबोलेको हो । मेरो पनि फेमिली हुनुहुन्छ, उसको पनि फेमिली हुनुहुन्छ । यस्तो कुराले फेमिलीलाई असर गर्छ भनेर सञ्चारमाध्यमलाई हामीले जथाभावी नलेखिदिन आग्रह गरिरहेका छौं ।

समीक्षा त एउटा राइजिङ स्टार पनि हो । उसको भर्खरै बन्न लागेको करिअर नबिग्रियोस भनेर सञ्चारमाध्यम पनि संवेदनशील हुनुपर्छ । यस विषयमा म एक–दुई दिनमा सार्वजनिकरूपमै आफ्ना कुराहरू राख्नेछु ।

(यस विषयमा समीक्षाले भने हामीसँग कुरा गर्न चाहिनन् । उनले आजै टीकटकमा एउटा भिडिओ पोष्ट गरेकी थिइन् । उक्त भिडिओमा उनले ‘कुरा काट्ने मान्छेले काटुन्‘ तर तिमी र म छुट्नु भएन’ बोलको गीतमा लिपसिंक गरेकी छन् । केही घण्टापछि उनले त्यो भिडिओ हटाइन् ।) नेपाल प्रेसबाट

प्रतिकृया दिनुहोस्