Monday, November 30

सहमतिको ढोका बन्ध भयो र नेकपा पार्टी अब फुटको संघारमा पुगयो, ओली पक्ष पेलेरै जाने सुरमा

November 10, 2020 121

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेर फुटको संघारमा पुगेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका बीचमा व्यक्तिगत टकराब जस्तो देखिएको समस्या अहिले आएर तल्लो तहसम्म पुगेका कारण फुटलाई रोक्न नेकपामा हम्मे हम्मेको अवस्था आएको छ ।

प्रदेशस्तरमा मात्र नभएर जिल्ला र स्थानीय तहसम्म पनि नेता कार्यकर्ता एकले अर्को पक्षको खेदो खन्न पुगेका छन् । यता, ओली र दाहाल भने ‘पर्ख र हेर’ को स्थितिमा रहेका छन् । प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण नेकपामा समस्या आइरहेको बुझाइमा ओली इतरका नेता कार्यकर्ता रहेका छन् ।

उनीहरु ओलीलाई समस्या देखिरहेका छन् किनकि ओलीले दलको कुनै पनि निर्णयहरु नमानी एकलौटी ढंगबाट आफू तथा दललाई चलाउन चाहेको भनी ओलीइतरका नेता कार्यकर्ता आक्रोशित बनेका हुन् । ओली इतरको समूहमा दाहालका अतिरिक्त माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम ९रु० बस् लगायतका नेताहरु देखिएको अवस्था छ ।

यस्तो अवस्थामा ओली भने पूर्व एमालेलाई एकत्रित बनाउने रणनीतिमा लागी दाहाललाई कुनामा पुर्‍याउने वा उनलाई अर्को दल गठन गर्न बाध्य पार्ने मनसायमा रहेको समाचार स्रोतले दाबी गरेको छ ।

जति भन्दा पनि ओलीको कानमा बतास नलागेको बुझाइमा पुगेका दाहाल भने ओलीले चाल्ने कदमपछि आफूले चाल्ने संभावित कदमहरुका बारेमा योजना बनाउन लागि परेको पनि समाचार स्रोतले जानकारी दिएको छ । लामो समयदेखि नेकपामा विवाद देखिंदै आएको छ ।

त्यसो त नेपाली कांग्रेसलाई हराउन वा आपूm जसरी पनि जित्नका लागि तात्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र) का बीचमा अप्राकृतिक गठबन्धन बनाउने कार्य गरिएको थियो । त्यसरी बनाइएको चुनावी गठबन्धनलाई चुनावपछि दुई दलका बीचमा एकता गर्ने भनी दुई दलका अध्यक्षहरु ओली र दाहालले हात उठाएको भरमा गरिएको एकताले निर्वाचन सकिएको करिब तीन वर्ष पुग्न लाग्दा पनि सार्थकता पाउन सकेको छैन ।

दुई दलका बीचमा एकता गरिएको भनिए पनि धेरै ठाउँमा एकताले मूर्त रुप पाउन नसकेको मात्र होइन किन अहिले आएर ‘पूर्व’ दलको ‘ह्याङ ओभर’ बाट गुज्रिरहेको स्थिति छ ।

दुवै दलले आवश्यक परेका बेलामा ‘पूर्व’ पहिचानलाई खोज्न चाहेको स्थिति छ । कर्णाली प्रदेशमा पूर्वमाओवादीका तर्फबाट सरकारको नेतृत्व भएको कुरालाई ओली पक्षले पचाउन नसकेको अवस्थामा मुख्यमन्त्रीविरुद्ध आफ्नै दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि शुरु भएको विवाद अहिले फेरि दल विभाजनको संघारसम्म आइपुगेको हो ।

यस्तो अवस्थामा प्रधानमन्त्री ओली पूर्वएमालेलाई समेटेर अगाडि बढ्ने नयाँ रणनीतिमा लागेका छन् । ओली समूहका केही नेताहरुले केही दिन अगाडि नेता प्रदीप नेपाललाई भेटेर पूर्वएमालेहरु एक ठाउँमा आउने गरी माधवकुमार नेपाल समूहलाई मनाई दिन आग्रह गरेका थिए ।

ओलीले चाहेजस्तो पूर्वएमालेको छुट्टै समूह बनिहाल्ने संभावना भने कमै देखिएको छ । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दुईपटक भेटेर सहकार्यका लागि आग्रह गरे पनि नेता नेपालले ओलीलाई वश्वास गरिहाल्ने संभावना नरहेको बुझाइमा छन् । अहिले दाहालको साथ पाउँदै आएका नेता नेपालले ओलीलाई समर्थन गरेको खण्डमा आफू ‘घर न घाट’ को अवस्थामा पुग्ने ठानेरै दाहालको कित्ताबाट बाहिर आउन नचाहेको अवस्था छ ।

आफूलाई अप्ठेरो पर्दा साथ खोज्ने तर समस्याको समाधान भएपछि फेरि कुनामा पार्ने काम विगतमा ओलीबाट भएका कारण नेता नेपालले तत्कालै ओलीलाई समर्थन गरिहाल्ने संभावना पनि कमै रहेको नेता नेपाल निकटको स्रोतले जानकारी दिएको छ । उता, कात्तिक ११ गते दाहालले लामो संवादहीनताको स्थिति अन्त्य गर्दै ओलीसँग कुरा गर्न बालुवाटारमा पुगेका ओली लत्रेर कुरा गर्ने दाहालको अपेक्षा विपरित ओली देखिएका थिए ।

दाहालले दलभित्रका सबै समस्याका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाउनु पर्ने बताएको अवस्थामा ओलीले रुखो स्वभाव देखाउँदै आफूले कुनै पनि बैठक नबोलाउने तथा कसैले बैठक बोलाएर कुनै निर्णय गरेमा त्यसलाई नमान्ने चेतावनी दिएका थिए । उनले दाहाललाई अब एउटै बाटोमा हिंड्न संभव नभएको बताउँदै सल्लाहमै दल विभाजन गरी आआफ्नो बाटो हिंड्नु उचित हुने भनेपछि दाहाल छाँगाबाट खसेजस्तो भएका थिए ।

प्रधानमन्त्रीको उक्त प्रस्ताव राखेपछि दाहालले सचिवालय सदस्यहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले दल विभाजन गर्ने प्रस्ताव गरेको जानकारी गराएपछि अरु नेताहरु पनि ओलीको बोली र व्यवहारबाट दिक्क भएका छन् ।

उनीहरुले नेकपा ठूलो दल भएको अवस्थामा मात्र सत्ता र विभिन्न अवसरको प्राप्ती गर्न सकिने कुरालाई ख्याल गरेर दल विभाजनलाई भने मान्न तयार नरहेको अवस्था छ । राजनीतिक विषयमा कलम चलाउँदै आएका अधिवक्ता नारायण पौडेल, ‘नेकपा विभाजनको तहमा नै पुगिसकेको छ, यस्तो अवस्थामा ओलीले भनेजस्तै विधिवत रुपमा विभाजन गरी आफ्नो मार्ग पहिल्याउनु नै उनीहरु तथा देशका लागि हितकर हुने अवस्था देखिन्छ ।’

पौडेल भन्छन्, ‘यसरी सधैं लडाइँ गरेर एकै ठाउँमा बसिरहँदा न सरकारले जनहितका लागि केही गरेको छ न त नेकपाले नै ।’ अहिले ओली आफूले सहानुभूति पाउन सकियोस् भनी विभिन्न किसिमका कुरा गर्न थालेका छन् । बुधबार एक गैरराजनीतिक कार्यक्रममा उनले आफूसँग राजीनामा मागिएको तर आफूले राजीनामा नगर्ने भनी सार्वजनिक रुपमा भने ।

उनले आफूसँग कसले किन राजीनामा मागेको भनी नखुलाए पनि आफूलाई राजीनामाका लागि दबाब दिंइदै आएको तर आफूले राजीनामा गरेका खण्डमा देश झनै बर्बादीतर्फ जाने भन्दै राजीनामा नगर्ने बताएका हुन् । ओलीको यो प्रसंगलाई नेकपाका अधिकांश नेताहरु अप्रासंगिक मान्दै छन् ।

पहिले ओलीलाई प्रधानमन्त्री र दलको अध्यक्षमध्ये कुनै एक पद छाड्नका लागि भनिए पनि अहिले पदको विषयमा कुनै कुरा नभएको तर दलका निर्णयलाई मानेर संस्थागत रुपमा चल्न भने दबाब दिंइदै आएको एक केन्द्रीय सदस्यले बताए ।

ओली पछिल्लो चरण झनै पेलेर जाने मुडमा रहेको बताइन्छ । दल विभाजनको कुरा ल्याउनासाथ अन्य नेताहरु त्यसका लागि तयार नहुने कमजोरी बुझेका ओलीले आवश्यकता अनुसार विभिन्न हतकण्डाहरुको प्रयोग गर्दै जाने नीति लिएका छन् ।

कहिले वामदेव गौतमलाई उचाल्ने तथा कहिले थचार्ने, कहिले माधवकुमार नेपालसँग नजिकिने त कहिले दाहालसँग नजिकिने व्यवहार देखाउँदै आएका छन् । उनी ‘फुटाऊ र राज गर’ भन्ने मान्यतालाई पालना गर्न तल्लीन रहेको बुझाइमा समाचार स्रोत रहेको छ । नयाँ विमर्शका साथमा ।

source:https://bicharnews.com

प्रतिकृया दिनुहोस्