Monday, January 17

कोरोनाकाे नयाँ भेरिअन्टबाट बचाउन सरकारले उचित कदम चाल्न जरुरी

November 30, 2021 93

विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरिअन्ट देखापरेको छ । विभिन्न राष्ट्रले नयाँ भेरिअन्टबाट आफ्ना नागरिक बचाउन धेरै स्वास्थ्य मापदण्ड र नीतिहरु अपनाका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न हरेक राष्ट्रले सक्दो प्रयास गरिरहेको छ ।

हाम्रै छिमेकी देशहरुको पनि सीमाना बन्द गरिसकेको छ । विज्ञहरुले समेत यस भाइरसबाट बच्न आग्रह गरिरहेको छन् । तर, नेपालमा भने यस भाइरसलाई बेवास्ता गरिएको छ । अधिकाशं सडक, सार्वजनिक स्थल, पार्टी पौवा, मठमन्दिर, सार्वजनिक यातायातमा अत्याधिक भीड रहेको छ ।

स्वास्थ्य मापदण्डको पालना नगरि मानिसहरु जथाभावी दौडिएका छन् । कोरोनाको नयाँ भेरिअन्टलाई कसैले गम्भीरता साथ हेरेको छैन् । कोभिडको दोस्रो लहर नसिद्धिँदै खोलिएको मठमन्दिरमा भक्तजनहरुको पूजाआजा गर्न भीड लाग्ने गरेको छ ।

मन्दिरमा दर्शन गर्ने, भजनकिर्तन गाउने भन्दै बुढाबुढीदेखि लिएर महिलाहरु बालबच्चा समेत बोकेर आउने गरेका छन् । सरकारले पटक पटक स्वास्थ्य मापदण्डको पालना गर्न भनेतापनि हेलचेक्र्याइँ गरेर मास्क नै नलगाई मन्दिरामा दर्शन आउनेको घुइँचो देख्न सकिन्छ ।

अहिले हरेक जिल्लाका मन्दिरहरु खुलिसकेका छन् । स्वास्थ्य मापदण्ड पालना गराउछौं भनेर कोरोनालाई लिएर लापरबाही गरेका छन् । मन्दिरमा बस्ने पुरोहितदेखि लिएर पुजाआजा गर्न चाहिने सामान बेच्ने व्यापारीले समेत स्वास्थ्य मापदण्डको पालना गरेको देखिँदैन ।

धर्म गर्ने भनेका छन् तर चर्को भीडभन्दा अरु केही छैन् । मन्दिरमा भएका भीडले कोरोना बढ्ने संज्ञा दिएको छ । यदि कोरोनाबाट जनता बचाउनु छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले मठमन्दिर तत्कालै बन्द गर्नुपर्छ । मठमन्दिर मात्र बन्द गरियो भने कोरोना नियन्त्रण गर्न सरकारलाई निकै सघाउ पुग्छ ।

रात्रिकालिन व्यवसायी, पार्टीप्यालेस, होटल व्यवसाय जस्ता भीडभाड हुने स्थान गृह मन्त्रालयले बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुपर्छ । अत्यधिक भीडभाड हुने क्षेत्रहरु सञ्चालनमा मन्त्रालयले बन्देज लगाउन जरुरी देखिएको छ ।

मालपोत, यातायात कार्यालय र राहदानी बनाउने कार्यालय पनि सञ्चालनमा रोक लगाइदिए केही हदसम्म कोरोना नियन्त्रण सम्भव छ । केही दिनको लागि सिडियो कार्यालयबाट जनताले पाउने सेवासुविधा केही दिनको लागि सञ्चालन गर्न दिनुहुन्न ।

बैंक तथा वित्तीय संस्थाहरु पनि केही दिनसम्म चल्नबाट बन्देज लगाएमा कोरोना नियन्त्रण गर्न सक्ने अवस्थाको सिर्जना हुन्छ । सरकारले बनाएको मापदण्ड पालना गर्नमा बैंकफाइनेन्स पनि चुकेको छ । वित्तिय संस्थाहरुले पनि स्वास्थ्य मापदण्ड पालना गर्न अटेर गरेका छन् ।

अब सरकारले जोरबिजोर प्रणाली लागु गरेर वित्तीय संस्था खोल्न दिनुपर्छ । यता, सरकारी वा निजी विद्यालयले पनि हेल्थ प्रोटोकलको पालना गरेको छैनन् । विद्यालयमा सामाजिक दुरीको पालना गर्नु असम्भव जस्तै देखिन्छ । विद्यार्थीहरुले मास्कसमेत लगाएका छैनन् ।

अहिले बालबालिका कोरोनाको घेरामा घेरिएका छन् । बालबालिकाले मास्क लगाउँदैनन् भने विद्यालयले स्यानिटाइजर व्यवस्था समेत गरेको छैन् । सरकारले बालबालिकाहरुलाई कोरोनाको नयाँ भेरिअन्टबाट टाढा राख्न कि प्रभावकारी ढंगले सामाजिक दुरीको पालना गर्न लगाउनुपर्छ ।

नत्र भए अनलाइनबाट पढाउनु नै उपयुक्त देखिएको छ । अनावश्यक रुपमा टाइम पास गर्न बिनाकाम सडकमा प्रशस्तै मानिसहरु हिँडिरहेका हुन्छन् । आफ्नो स्वास्थ्यको ख्याल नगरि नेपाली जनता निस्फ्रिकी डुलिरहेका छन् । यसरी जथाभावी डुल्दा कोरोना संक्रमण बढ्ने डर ज्यादै हुन्छ ।

सार्वजनिक यातायातले कोरोना फैलाउन झनै ठूलो भूमिका खेलेको छ । बस, माइक्रोबस, ट्याम्पुजस्ता गाडीमा यात्रुको भीड धेरै नै हुन्छ । दाउरा मिलाएजस्तै राखिएका यात्रुको चाङमा कोरोना फैलिन सक्ने जोखिम बढी रहन्छ । अहिले बसका सहचालक चालकले नै मास्क, स्यानिटाइजरको प्रयोग गर्दैनन् ।

सार्वजनिक यातायातमा यात्रा गर्ने कमै यात्रुले मात्र मास्क लगाएको देखिन्छ । लगाएका अधिकांशले पनि चिउँडो छोप्नको लागि मास्क लगाएका छन् । जसले गर्दा एउटासंग भएको रोग अर्कोलाई सर्ने दर बढिरहेको छ । ढोकैसम्म यात्रु उभाइएको हुन्छ तर त्यस्ता सवारीलाई कारबाही गरिँदैन ।

सरकारले सिटभन्दा बढी यात्रु हाल्न नपाउने निर्णय गर्नुपर्ने बेला भएको छ । सहचालक चालकका साथै यात्रुले पनि अनिवार्य रुपमा मास्क लगाउनपर्ने नियमको निर्माण गरेमा कोरोनाबाट जोगिने अलिकति आश जाग्छ ।

चुनाव नजिकिएसंगै राजनीतिक दलहरुको महाधिवेशन, बेठक, सभा जस्ता गतिविधिहरुले स्थान पाएका छन् । दलहरु आफैँ कोरोनालाई साइडमा राखेर भेला गर्दै हिँडेका छन् । न राजनीतिक दलका कार्यकर्ताले मास्क लगाउछन् न त सिकाँउछन् । जनताहरु पनि राजनीतिक दलका कार्यकर्ता बनेर भीड बढाउने काम मात्र गरिरहेका छन् ।

अहिले प्रधानन्यायात्रीशको राजीनामा माग गर्दै आन्दोलन भइरहेका छन् । सयौंको संख्यामा वकिलहरु सडकमा ओइरिएका छन् । यो पनि कोरोना फैलिनुको प्रमुदख कारण बन्न सक्छ । अब मन्त्रालयले २५ जना भन्दा बढी सहभागी गरेर कुनै कार्यक्रम गर्न नदिने निणर्य गर्नुपर्छ ।

हवाई जहाजहरुमा सरकारले बनाएका प्रोटोकलहरुको पालना भएका छन् कि छैनन् भनेर अनुगमन गरिनुपर्छ । साथै, सिट संख्याभन्दा बढी यात्रु हाल्ने, सरकारले बनाएका मापदण्ड पालनामा अटेर गर्ने लामो रोडको गाडी चल्न दिनुहुन्न ।

नेपाल र भारत छिमेकी मुलुक हुन् । यी दुई राष्ट्रलाई एकअर्कोको देश जान कुनै रोकतोक लगाइएको छैन् । नेपालीहरु आफ्नो परिचयपत्रको आधारमा भारत जान पाउँछन् भने भारतीय पनि सजिलै नेपाल छिर्न पाउँछन् । नेपालका अधिकांश नागरिकहरु रोजगारीको लागि भारत गएका छन् । नेपालमा पनि भारतीयको संख्या उल्लेखीय छ ।

भारतमा कोरोना संक्रमणको दर बढेसंगै नेपालीहरु धमाधम आफैँ देश फर्किँदै छन् । तर, नाकामा कोरोनाको परीक्षण भएको छैन् । भारतबाट नेपाल आउनेहरु सिधै आफ्नो घर धाइरहेको छन् । जसले गाउँ र टोललाई नै खतरामा पारेको छ । शहर त क्वारेन्टिनको व्यवस्था गरिएको छैन् भने गाँउमा कल्पनाभन्दा बाहिरैको कुरा हो ।

ठूल्ठूला व्यापारिक मल, सुपर मार्केटहरु जस्तैः भाटभटेनी, बिग मार्ट, लबिम मलमा पनि सरकारले बनाएको मापदण्ड पालना भएको छैन । सिनेमाघरहरुले पनि अलिक लापरबाही नै गरेका छन् । घरघरमा कबाडी सामान लिन आउनेलाई कोरोनाको बारे मतलब छैन् ।

फुटपाथ व्यापारी, ठेलागाडा व्यापारी र कराना पसलेले पैसाभन्दा अरु केही देखेका छैन् । सडक छेउछाउ पुरै ढाकेर बसेका फुटपाथ व्यापारीहरुले पनि स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् । सरकारी कार्यालयमा झनै खुट्टा टेक्ने ठाउँ छैन् ।

हरेक सरकारी कार्यालयमा दैनिक हजारौँको संख्यामा भीड लाग्छ । प्रभावकारी ढंगबाट काम सुचारु गर्न नसक्दा जनताले दुःख त पाएका छन् नै । त्योभन्दा पनि कोरोना फैलिने चिन्ताले पिरोलिरहेको छ । उपत्यकावासीलाई बचाउन मेयरहरुले साँगा र थानकोट नाकामा स्वास्थ्यकर्मी राखेर कोरोना परीक्षण गर्ने हो कि ?

यति गरिदिने हो भने उपत्यकाबासीले कोरोना लाग्ने डरबाट अलिकति भएपनि राहत पाउँथे । अहिले देशभरका जनता उपत्यकामा बस्छ । यदि केही गरि कोरोनाले विकराल रुप लियो भने उपत्यका नै सखाप हुन्छ । सरकारले पनि जनता बचाउन हो भने उपत्यका भित्रिने नाकाहरुमा कडाइका साथ चेकजाँच गर्नुपर्छ ।

कोरोनाको नयाँ भेरिअन्टबाट देशका नागरिकहरुलार्य बचाउन सरकारले आवश्यक नीति बनाउने बेला आएकाे छ । अझ बालबालिका, दीर्घकालिन रोगी र बुढाबुढीलाई अनावश्यक काममा ननिस्कन आग्रह गर्नुपर्छ । यसबाट कोरोना केही मात्रासम्म न्युनिकरण गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्