Thursday, November 26

मधुमेहबाट जोगाउने ६ योगासन

October 27, 2020 93

मधुमेह रगतमा चिनीको मात्रा बढी हुने रोग हो । इन्सुलिन नामक हर्मोनको उत्पादनमा कमी आउँदा वा इन्सुलिनले काम गर्न नसक्दा मधुमेह हुन्छ । इन्सुलिनले रगतको ग्लुकोजलाई शक्तिका रूपमा प्रयोग गर्न सहयोग गर्दछ । साथै बढी भएको ग्लुकोजलाई ग्लाइकोजनमा परिणत गरी सञ्चय गर्छ । तर, इन्सुलिनको कमी भएपछि शरीरले ग्लुकोजलाई प्रयोग गर्न र ग्लाइकोजनको रूपमा सञ्चय गर्न सक्दैन र रगतमा ग्लुकोजको मात्रा अनावश्यक बढ्न जान्छ । बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना भएकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय मिलिग्रामभन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ भने १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्रामभन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर मधुमेह पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । ८–१० घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको २ घण्टामा जाँच्दा यो मात्रा करिब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।
मधुमेहलाई चार किमिसमका वर्गीकरण गर्न सकिन्छ – टाइप वान, टाइप टु, जेस्टेस्नल र सेकेन्डरी । मधुमेहको उपचारका लागि मानिसहरु विभिन्न अस्पताल धाउने गर्छन् । अस्वस्थ जीवनशैली, व्यायामको कमी, धुम्रपान, मोटोपन, वंशाणु लगायतका कारणले मधुमेह हुने गर्दछ । मधुमेह भएका बिरामीले व्यायाम र खानपिनमा ध्यान दिने हो भने धेरै हदसम्म जोगिन सकिन्छ ।
मधुमेह भएका बिरामीले योगा गर्ने हो भने पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । मधुमेहबाट जोगिने ६ योगासन यसप्रकार छन् । यी योगासनलाई दैनिक रुपमा गर्ने हो भने धेरै मानिसहरु मधुमेहबाट बच्न सक्छन् ।

१. सशांक आसन
आफ्नो अनुकुलता अनुसार यो आसनमा तीन मिनेटसम्म बस्नु पर्दछ । दैनिक यो आसनलाई ३ देखी ५ पटकसम्म गर्न सकेमा राम्रो हुन्छ । यो आसनमा बस्दा शुरुमा घुँडा टेकेर बज्रासनमा बस्दै दुवैहातलाई माथि राख्ने । हात माथि लग्दा लामो सास लिने । त्यसपछि विस्तारै हातलाई तल लैजाने । हात तल गरेर जमिनतिर झुक्दा सास विस्तारै छाड्दै झुक्ने । केही बेर रोकिँदै पुन माथि उठ्ने । यो आसनलाई तीन देखी ५ पटकसम्म गर्न सकिन्छ ।
सावधान : ढाड तथा कम्मरको हड्डीमा समस्या भएका, चक्कर आउने र उच्च रक्तचापका बिरामीले यो आसन गर्नु हुँदैन ।

२. योग मुद्रा आसन
सुरुमा पद्यमासनमा बस्ने । त्यसपछि हातलाई विस्तारै पछाडी ढाडमा लगेर राख्ने । विस्तारै तलतिर झुक्दै जाने । निधारले जमिनमा छुने प्रयास गर्ने । माथितिर जाने बेलामा लामो सास लिने र तल झुक्ने क्रममा विस्तारै सास छोड्दै जानु पर्छ । चित्रमा देखाएको जस्तै आसनमा २ मिनेटसम्म बस्ने । यो असानलाई आफ्नो अनुकुलता अनुसार दोहोराएर गर्न सकिन्छ ।
सावधान : मुटु, आँखा र ढाडको समस्या भएका बिरामी तथा गर्भवती महिलाले यो आसन गर्नु हुँदैन ।

३. अर्धमत्सेन्द्र आसन
खुट्टा र हातलाई चित्रमा देखाएजस्तै गरि राख्ने । यो आसनमा करिब दुई मिनेटसम्म बस्न सकिन्छ । यो पनि आफ्नो अनुकुलता अनुसार ३ देखी ५ पटकसम्म दोहोर्याएर गर्न सकिन्छ ।
सावधान : गर्भवती, पेप्टिक अल्सर, हर्निया र हाइपो थाइराइडको समस्या भएकाले यो आसन गर्नु हुँदैन ।

४. पश्चिमोत्तन आसन
खुट्टालाई सिधा पारेर राख्ने । हातले खुट्टाको औँला समाउने र विस्तारै टाउकोले घुँडा छुने । केही सेकेन्ड घुँडामा टाउकोले छोएपछि पुन टाउकोलाई विस्तारै माथितिर लैजाने । टाउको माथि लैजाने क्रममा सासलाई तान्दै लैजाने र तल ल्याउने क्रममा सास छाड्दै जानुपर्छ । यो आसनलाई पाँच पटकसम्म दोहोर्याउन सकिन्छ ।
सावधान : ढाडको समस्या भएका र गर्भवतीले यो आसन गर्नु हुँदैन ।

५. भुजंग आसन
भुइँमा घोप्टो परेर सुत्ने र विस्तारै टाउकोलाई चित्रमा देखाएझैँ उठाउँदै माथितिर लैजाने । चित्रमा देखाएकै पोजमा बढीभन्दा बढी समय बस्ने प्रयास गर्ने ।
सावधान : पेप्टिक अल्सर, हर्निया र हाइपो थाइराडको समस्या भएकाले यो आसन गर्नु हुँदैन ।

६. शलभासन
भुइँमा घोप्टो परेर सुत्ने ।दुबै खुट्टा लाई जोड्नु होस। अब हात मुट्ठी कसेर तिघ्रा मुनि लागेर राख्नुहोस्। विस्तारै खुट्टालाई चित्रमा देखाएझैँ उठाउँदै माथितिर लैजाने . अब जतीबेर सम्म सक्नु हुन्छ आसान लाई रोकेर राख्नुस। तीन पटकसम्म यो आसनलाई दोहोर्याउने ।
सावधान : मुटुका बिरामी, उच्च रक्तचाप र इपिलेप्सिका बिरामीले यो आसन गर्नु हुदैन ।

प्रतिकृया दिनुहोस्