Saturday, December 5

दशैँ मानेर फर्किने क्रममा दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ जना घाइते

October 27, 2020 103

काठमाडौ । मान्यजनकोबाट दशैँ मानेर फर्किने क्रममा काठमाडौं, सिन्धुली, रुपन्देही, चितवन, कैलाली र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित सडकमा बा. ८४ प ५६४० नम्बरको पार्किङ गरी राखेको मोटरसाइकलमा प्रदेश ३(०२) ०१४ प ९७९८ नम्बरको स्कुटर ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक बुढानिलकण्ठ नगरपालिका–२ चपली बस्ने ४५ वर्षीय सन्दिप गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुली, कमलामाई नगरपालिका–१ चम्राहीस्थित सडकमा प्रदेश ३(०२)०१० प ६७६६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सन्तोष भुजेलकी छोरी ९ वर्षीया समिता भुजेलको सोमबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने उमेश भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुपन्देही, रोहिणी गाउँपालिका–३ धकधई चोकमा लु.२ त ४६११ नम्बरको ट्याक्टर अचानक सडकमा पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार रोहीणी गाउँपालिका–३ बस्ने १२ वर्षीय निखिल घर्तीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, रत्ननगर नगरपालिका–१० भानु चोकमा प्रदेश ०३ –००१ ख १९९ नम्बरको बसले प्रदेश २(०३)००२ प २८१६ नम्बरको स्कुटरलाई सोमबार राति ठक्कर दिँदा स्कुटर चालक रत्ननगर नगरपालिका–२ बस्ने २२ वर्षीय बिपन क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका–३ बोराडाडीमा रोकी राखेको म.१ ख ६१७ नम्बरको ट्रकमा धनगढीबाट धत्तरीयातर्फ जाँदै गरेको से.१ प ८७६१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, शिवसताक्षी नगरपालिका–१ कमल खोलास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४८ वर्षीय बल बहादुर चेम्जोङको सोमबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल तथा चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनामा परेकाहरु अधिकांश दशैँ मानेर घर फर्किदै गरेको बुझिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

source :Wow Sansar

प्रतिकृया दिनुहोस्