Tuesday, November 24

प्रधानमन्‍त्री र ‘रअ’ प्रमुखको भेटबारे ईश्वर पोखरेलको ६ बुँदे वक्तव्य

October 28, 2020 234

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’प्रमुख सामन्त गोयलको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा भएको बताएका छन्।

annapurna post

रअ प्रमुख र प्रधानमन्त्री केपी ओलीको भेटको विषयमा गलत प्रचार भएकोप्रति आक्रोश व्यक्त भन्दै पोखरेलले यस्तो बताएका हुन्।

‘भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए’, मन्त्री पोखरेलले भनेका छन्।

प्रधानमन्त्री र रअ प्रमुखको भेटको गलत प्रचार भएको भन्दै उनले गोयल परराष्ट्र मन्त्रालयको स्वीकृतिमा नेपाल आएको दाबी गरेका छन्। मन्त्री पोखरेलले भारतीय दूतावासमार्फत् गोयललाई नेपालमा औपचारिक निम्ताका लागि पहल भएको उल्लेख गरेका हुन्।

‘नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन्’, मन्त्री पोखरेलले थप प्रष्ट पार्दै भनेका छन्, ‘काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो।’

मन्त्री पोखरेलले प्रधानमन्त्रीसँग गोयलले गोप्य वार्ता नगरेको र त्यो टिपोट प्रधानमन्त्रीका प्रतिनिधिसँगै परराष्ट्र मन्त्रालयसँग औपचारिक रुपमा भएको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिले जिम्मेवारीपूर्वक सुनेका छन्– टिपोट गरेका छन्’, पोखरेलले थप भनेका छन्, ‘परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ।’

गोयलसँगको भेटमा नेपाल र भारतकाबीच केही समययता बनेको असहज परिस्थितिमा छलफल केन्द्रित भएको पोखरेलको भनाइ छ। भेटमा प्रधानमन्त्री ओलीले सीमाको विषयमा नेपालले राख्दै आएका अडाबारे पुनः जानकारी गराएको उनको दाबी छ।

प्रधानमन्त्री ओलीले नेपाल र भारत सीमा विवादका विषयमा ऐतिहासिक प्रमाणका आधारमा समस्याको समाधान गर्नुपर्ने धारणा राखेको उनको भनाइ छ। गोयलसँगको भेटमा नेपाल र भारतका बीचमा देखिएका समस्याको समाधान संवाद नै भएको निष्कर्षमा दुवै पक्ष पुगेको उनको भनाइ छ।

‘भेटमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल–भारत सम्बन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो। त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो’, पोखरेलले भनेका छन्, ‘वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो। त्यहाँ गोयलका तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो। नेपाल–भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो।’

सरकारको विरोध गर्नेप्रति पोखरेलको आक्रोश
उपप्रधानमन्त्री पोखरेलले सरकारको विरोध गर्नेप्रति चर्को आक्रोश व्यक्त गरेका छन्। विगत केही समययता असहज बनेको नेपाल–भारत सम्बन्ध सुधारका लागि भएको पहलको विषयमा विरोध हुनु गलत भएको उनको भनाइ छ।

उनले वास्तविकता नबुझी पूर्वाग्रह राखेर विरोधका लागि विरोध भएकोसमेत बताएका छन्। यो प्रवृत्तिलाई उनले अस्वस्थ्य मानसिकताको संज्ञा दिएका छन्। सहज वातावरण निर्माणका निम्ति सरकारले पहल गर्दै गर्दा राष्ट्रियता र स्वाधीनताका नाममा गलत आरोप लगाइएको उनको भनाइ छ।

‘विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल–भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसले किन विरोध गरिराखेका छन् ?’, मन्त्री पोखरेलले प्रश्न गर्दै भनेका छन्, ‘अहिले धेरै कुरा किन गर्ने ? उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ।’

मन्त्री पोखरेलले प्रोटोकललाई ख़्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुर्याइएको आदि भनेर आरोप लगाउनु गलत भएको बताएका छन्। उनले यो गलत बहसमा कम्युनिस्ट पार्टीकै कतिपय नेता लागेकोसमेत आरोप लगाएका छन्।

‘कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालको बहस सिर्जना गर्न खोजिदैछ’ उनले भनेका छन्, ‘दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिदैछन्।’

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री र सरकारविरुद्ध केही मानिस निलज्जतापूर्वक लागेको र विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशविरुद्ध गतिविधि गर्नेहरु अहिले राष्ट्रियताको कुरा गरिरहेको आरोपसमेत लगाएका छन्।

‘अहिले सरकारविरूद्ध ती मानिस विशेष निर्लज्जतापूर्वक लागेका छन् , जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ! विगतमा भारतको ‘रअ’ का हाकिमहरूसित भेट गर्न तँछाड मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे। त्यहाँ खुसामदका बिन्ती बोली बिसाउँथे’, आलोचकप्रति आक्रोश व्यक्त गर्दै मन्त्री पोखरेलले फेसबुकमा थप लेखेका छन्, ‘विडम्बना। अहिले उनीहरू समेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध बृहत गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन्।’

उनले विदेशीको काखको न्यानोमा सुत्न पल्केकाहरूको कथित राष्ट्रवादलाई चिन्न र सरकारले चालेका कदमलाई साथ र समर्थन गर्न सबैलाई आग्रहसमेत गरेका छन्।

बुँदामा उपप्रधानमन्त्री पोखरेलको धारणा

– भारतीय गुप्तचर संस्था -‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए ।

-नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाण्डौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो ।

– प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन् – टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ ।

– वातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल- भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो । त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुन: जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल ( हरू ) का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल – भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो ।

– विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल-भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन् – ती मानिसहरू ? कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ । प्रोटोकललाई ख़्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पु-याइएको आदि भनेर आरोप लगाउने काेशिस भइरहेकाे छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालकाे बहस सिर्जना गर्न खोजिदैछ । दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिदैछन् ।

– यतिबेला एउटा कुरा सबैले ख़्याल गरौं – केपी शर्माओली र उहाँले नेतृत्व गरेको यस सरकारका विरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन् , जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ! विगतमा भारतको ‘ रअ’ का हाकिमहरूसित भेट गर्न तँछाड मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे , त्यहाँ खुसामदका बिन्ती – बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरू समेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध बृहद गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् !!
source :Annapurna post (Nepali )

प्रतिकृया दिनुहोस्