लक्ष्मीको मुर्तिसँग विनाअपवाद देखाइने अन्य साङ्केतिक वस्तुहरूमा बलिरहेका दीयाहरू पनि महत्त्वपूर्ण हुन् । दिनदिनै लक्ष्मी पूजा गर्ने व्यापारीहरुले पनि लक्ष्मीका मुर्ति अगाडि दिया बाल्छन् । वर्षमा एकपल्ट लक्ष्मी पूजा गर्ने अरू धेरैले कृष्ण पक्षको सबै भन्दा अँध्यारो रातमा, अर्थात औंसीको रातमा, दीयाहरू बालेर पूजा गर्ने गर्छन् । यी बलिरहेका दीयाको वास सन्देश कसैले केही देख्न नसक्ने अँध्यारो रातमा दीयाका सहाराले नदेखिएका वस्तुलाई देखे झैँ सामान्य व्यक्तिका लागि अज्ञात वा अदृश्य रहेका अवसरहरूलाई ज्ञानको प्रकाश वा ज्ञानका आँखाले पत्ता लगाएर समृद्धिको आयामलाई खोल्न सकिन्छ भन्ने हो ।
दीपावलीको सन्देश अवसरहरूको खोज गर्ने तथा त्यसलाई कार्यान्वयन गर्न आवश्यक विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनको उपासना गर्ने व्यवसायीलाई समृद्धिले पछ्याउँछ भन्ने हो । त्यो भएर पनि बत्तीको साङ्केतिक अर्थ उल्लूको साङ्केतिक अर्थको परिपूरक हो, विस्थापक होइन । तर भूलवश आजकल लक्ष्मीको चित्रमा दीया मात्रै देखाएर उल्लूलाई विस्थापित गरेको पनि भेटिन्छ । लक्ष्मीलाई उल्लूबाट अलग्याएर चित्रण गर्नुले लक्ष्मीको प्रवर्तक दर्शनसँग मेल खाँदैन । उल्लूले अँध्याराे रातिमा पनि आँखा देख्दछ । आफ्ना अद्भूत कान र आँखाकाे उपयाेग गरेर उल्लूले रातिकाे समयमा सक्रिय बन्दछ । जति बेला अरू सबैजसाे जीवजन्तु निष्क्रिय बनेका हुन्छन् । यसरी आफ्ना विशेष सुन्ने, देख्ने शक्तिलाइ प्रयाेग गरेर अँध्याराेमा पनि लक्ष्यकाे पहिचान गर्न उल्लू सक्रिय हुन्छ । यसकाे अर्थ जसले उपयक्त समय, स्थान, परिस्थिति र अवसरकाे ठाेस पहिचान गर्न सक्दछ ।
आजकल लक्ष्मी पूजामा दीप वा बत्तीलाई खुब महत्त्व दिइन्छ तर उनको वाहन उल्लूलाई सम्झन सम्म पनि सम्झिँदैन । उल्लूलाई यसरी महत्त्वहीन मान्न थालिनुको कारण उल्लूको अर्थ नै थाहा नहुनु वा हराएर जानु हो । उता सामान्य मानिसका लागि बत्तीको महत्त्व बुझ्न एकदम सजिलाे छ । बत्तीले दिने सन्देशहरूमा अँध्यारोलाई उज्यालोले चिन्न सक्दछ, असत्यमाथि सत्यले विजय पाउन सक्छ, वा पापमाथि धर्मले आधिपत्य जमाउन सक्छ भन्नेजस्ता कुराहरू पर्छन् । ती सन्देश प्रवाह गर्न सरल छ । उता चाडको वातावरणलाई बढी उल्लासमय बनाउने भएकाेले पनि हालका समयमा दीप जलाउने चलनले महत्त्व पाउन सकेको हो । जे हाेस् पुरातन वैचारिक पद्धतिमा लक्ष्मीको प्रमुख सन्देश उल्लू नै हो र दीप त्यसको सहायक हो । सफल व्यवसायीले सिक्ने कुरा बत्तीमा भन्दा उल्लूमा धेरै छन् ।
प्रतिकृया दिनुहोस्