Thursday, November 26

“बन्द भएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र बुधबारदेखि पर्यटकका लागि खुला”

November 19, 2020 62

कोरोना सन्त्रासका कारण लकडाउनसँगै बन्द भएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र बुधबारदेखि पर्यटकका लागि खुला गरिएको छ । लुम्बिनी बिकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार पर्यटकीय स्थलहरु खुला गर्ने सरकारको निर्णय गरेसँगै कोषको पदाधिकारी स्तरीय बैठकले लुम्बिनी क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो । कोरोना जोखिमका कारण चैत्र ११ गतेदेखि लुम्बिनी क्षेत्र बन्द गरिएको थियो । यस्तो निर्णयसँगै अब पर्यटकहरु मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा लगायतका स्थानहरुमा घुम्न सक्नेछन् । लुम्बिनी क्षेत्र खुल्ला गरिएपनि मायामादेबि मन्दिर भने अझै खुल्ला गरिएको छैन् । योजना प्रमुख भट्टराईले तत्कालका लागि मन्दिर खुल्ला गर्ने निर्णय भने नभएको बताउनुभयो ।

उहांका अनुसार लुम्बिनी क्षेत्र घुम्नेहरुका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ । पर्यटकहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । बिभिन्न स्थानहरुमा ज्वरो नाप्ने,हातमुख धुने लगायतका ब्यवस्था गरिएको छ । सुरक्षाकर्मी र कोषका कर्मचारीहरुले स्वास्थ्य सुरक्षा मापदण्डबारे निगरानी गर्नेछन् । कोषले कोरोना संक्रमणबाट जोगिन र सजगता अपनाउनका लागि पर्यटक बोक्ने ट्याक्सी तथा रिक्साहरुलाई सुरक्षा तालीम दिएको छ । लुम्बिनी क्षेत्रका होटल तथा पर्यटन ब्यवसायीहरुले लुम्बिनी क्षेत्र खुल्ला गर्न पटक पटक माग गर्दै आएका थिए । पर्यटकहरुलाई आकर्षित गर्न लकडाउनकै अवधिमा लुम्बिनी क्षेत्रमा सरसफाई गरेर चिटिक्क पारिएको छ । यो खबर आजको गोरखापत्रमा छ।

प्रतिकृया दिनुहोस्