Tuesday, January 26

“शास्त्र अनुसार गणेशलाई किन तुलसी चढाउनु हुँदैन ? दूबो किन चढाइन्छ ?”

November 26, 2020 125

प्रत्येक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ । दूबो विना गणेशको पूजा पूर्ण नहुने भएकोले गणेशलाई पूजामा मुख्य रुपमा दूबो चढाइन्छ । तुलसीलाई विष्णुको एक रूप नै मानिएता पनि गणेशजीलाई तुलसी अप्रिय लाग्ने हुनाले गणेश पूजामा तुलसीको प्रयोग वर्जित छ ।

दूबो र तुलसीका बारेमा भने एउटा राेचक कथा भेटिन्छ । कथा अनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो । असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान महादेवसँग प्रार्थना गर्न पुगे ।

अनलासुर नामक असुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताए । अनलासुरसँग युद्ध गर्न गणेशजी गए । असुरले उनलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निले । असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो ।

धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन । त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिए । दूबो खाएपछि गणेशजीको पीडा कम भयो । त्यतिखेर देखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो ।

गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ । कथा अनुसार प्राचीन समयमा तुलसीले गणेशसँग विवाहको प्रार्थना गरेकी थिइन् । तर गणेशजीले मानेनन् । रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन् । गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिए ।

राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन् । त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भने ।

 

प्रतिकृया दिनुहोस्