Thursday, November 26

भारतका सेनापति मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणसंगै भारत के सन्देश दिन खोज्दैछ ?

October 30, 2020 135

काठमाडौं : भारतका सेनापति मनोज मुकुन्द नरवाणे कात्तिक १९ गते नेपाल भ्रमणमा आउने निश्‍चित भएको छ । भारतका २८ औं सेनाध्यक्ष नरवाणेको तीनदिने भ्रमणका लागि जंगीअड्डाले विशेष तयारीसहित कार्यक्रम पनि सार्वजनिक गरेको छ।

 

नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तामा हुन लागेको यो औपचारिक सद्‍भावना भ्रमण हो। नक्सा प्रकरणपछि दुई देशबीचको सम्वाद र सम्बन्ध सहज हुन नसकिरहेका बेला हुन लागेको सेनापतिको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।

सेनापति भ्रमणको पूर्वसन्ध्यामा भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुख सामन्तकुमार गोयलको आकस्मिक काठमाडौं यात्राले सेनापतिको भ्रमण अर्थपूर्ण हुनसक्‍ने संकेत दिएको छ। रअ प्रमुखको आकस्मिक काठमाडौं यात्रा र उच्चस्तरीय परामर्शपछि उत्पन्‍न भूराजनीतिक तरंगको पृष्ठभूमिमा हुन लागेको यो भ्रमण नियमित निरन्तरता मात्र होइन। सेनापतिले भारतीय संस्थापनको महत्वपूर्ण सन्देश बोकेर काठमाडौं आउने अनुमान राजनीतिक र कुटनीतिक दुवै वृत्तमा गरिएको छ। रअ प्रमुखको काठमाडौं परामर्श र सेनापतिको भ्रमणमार्फत भारतले चिसिएको सम्बन्ध सुधारका लागि सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।

सेनापतिको काठमाडौं यात्रालाई भूराजनीतिक नजरबाट नियालिएको छ। अमेरिकासँगको रणनीतिक साझेदारीमा जोड दिएको भारतको चीनसँग तनाव बढिरहेको छ। दक्षिण एसियामा आफ्नो सामरिक प्रभाव कायम तथा विस्तार गर्न पनि भारतका लागि नपालको साथ र सद्‌भाव महत्वपूर्ण मात्र होइन, अपरिहार्य हुँदै गएको छ। अमेरिकी विदेशमन्‍त्री र रक्षामन्‍त्रीको भर्खरैको दिल्ली यात्रा, टु प्लस टु उच्चस्तरीय वार्ता र सैन्य सम्झौताले दक्षिण एसियाको भूराजनीतिमा नयाँ तरंग पैदा गरेको छ। लद्दाख भीडन्त र बढ्दो तनावको पृष्ठभूमिमा भएको सैन्य सम्झौतालाई चीनले स्वभाविक रुपमा लिएको छैन। गत जुनमा भारत र चीनको सिमा क्षेत्रम लद्दाखमा भएको भिडन्तमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो।

नयाँ नक्सा प्रकरणपछि भारतबाट उच्चस्तरका अधिकारी नेपाल भ्रमणमा आउन लागेको पहिलोपटक हो। यसअघि गत कात्तिक ५ गते भारतीय वायु सेनाको विशेष विमान चढेर काठमाडौं आएका रअ प्रमुख गोयलले प्रधानमन्‍त्री तथा अन्य अधिकारीसँग अनौपचारिक परामर्श गरेका थिए। सेनापतिको भ्रमण निर्धारित भइसकेको अवस्थामा राजनीतिक नेतृत्वको मुड अनि काठमाडौंको माहोल बुझ्‍न उनी सुटुक्क नेपाल आएका हुन्।

भारतीय सेनाका सेनाध्यक्ष नरवाणे नेपालमा रहँदा उच्चस्तरको राजनीतिक भेटवार्ता हुनेछ। सेनापति नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली,रक्षामन्त्री ईश्वर पोखरेल र समकक्षी सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

तीन दिने नेपाल भ्रमणको क्रममा सेनापति नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने विशेष कार्यक्रम छ। भारतका सेनापतिले नेपाली सेनाको र नेपालका सेनापतिले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्ने परम्पराअनुसार यो भ्रमण तय गरिएको छ। सेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गरिसकेका छन्।

नरवाणे सेनाअध्यक्ष भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। यसअघि नै भारतीय सेनापतिको भ्रमणको तयारी भएको थियो । तर कोरोना संक्रमण तथा अन्य कारणले गर्दा भ्रमण स्थगित भएको थियो। सामान्यतया: भारतीय सेनापति नेतृत्व समालेपछि केही महिनामै नेपाल भ्रमणमा आउने र मानार्थ महारथीको उपाधि ग्रहण गर्ने प्रचलन थियो। तर उनी सेनापति भएको एक वर्ष बढी भइसक्दा पनि कोरोना संक्रमण तथा दुई देशबीच उत्पन्‍न तनावका कारण भ्रमणको तयारी पटकपटक भए पनि स्थगित हुँदै आएको थियो।

सेनापतिको भ्रमण र भेटघाटले राजनीतिक र प्रशासनिक तहका जारी संवादहिनता अन्त्य गर्न सहयोग पुग्‍ने अपेक्षा गरिएको छ। भारतले अतिक्रमित गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको संविधान संशोधन पारित गरेपछि भारतले यसमा अप्रशन्‍नता व्यक्त गरेको थियो। त्यसपछि नेपाल भारतबीच राजनीतक तथा कुटनीतिक स्तरमा सम्वाद लगभग अवरुद्ध भएको छ।

सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमण दुई देशबीच चिसिएको सम्बन्ध सुधारका लागि एउटा अवसर हुनसक्‍ने भन्दै त्यसलाई विशेष सतर्कताका साथ उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूले सरकारलाई दिएका छन्।नेपाल भारतबीचको सम्बन्धमा सैन्य कुटनीतिको महत्वपूर्ण भूमिका रहँदै आएको छ। त्यसैले यो भ्रमणलाई चिसिएको सम्बन्ध सुधारको संकेतको रुपमा लिन सकिन्छ, नेपाल भारतबीचको सुरक्षा तथा कुटनीतिक मामिला नियालिरहेका एक विज्ञले बताए।

नेपालसँग कुनै पनि परामर्श र सहमति बिना भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोबार जाने सडक बनाएर वैशाख २६ गते उद्घाटन गरेको थियो। भारतका रक्षमन्त्री राजनाथ सिंले लकडाउनको अवसर छोपेर भिडियो कन्फेरेन्समार्फत उद्घाटन गरेपछि यसको नेपालमा व्यापक विरोध तथा आलोचना गरेको थिए। त्यसको प्रतिक्रियामा भारतीय सेनाका प्रमुखनरवणेले चीनतर्फ इशारा गर्दै तेश्रो देशको आडमा नेपालमा उक्त विरोध भएको हुनसक्ने धारणा राखेका थिए। त्यो अभिव्यक्तिले उनी विवादमा तानिएका थिए। पछि उनले आफ्नो अभिव्यक्ति सच्चाएका थिए।

दुई देशबीच राजनीतिक तहमा उत्पन्‍न असमझदारी तथा तनावको छाया सैन्य सम्बन्धमा नपरोस् भन्‍नेमा दुवैतर्फका सैनिक नेृतृत्व सचेत देखिएका छन्। दुई देशका सेनाबीच निकै लामो र गहन सम्बन्ध एवं आदान प्रदान छ। सन् १९५० को दशकदेखि दुवै देशले छिमेकी सेनापतिलाई मानार्थ सेना प्रमुखको उपाधि दिने प्रचलन छ। यो निरन्तर चल्दै आएको छ। यसलाई दुई देशबीचको सैन्य भाइचाराको महत्वपूर्ण कडीका रुपमा लिने गरिएकोछ।

नेपाली सेनाले प्रयोग गर्ने हतियार तथा गोलीगठ्ठाजस्ता घातक र अरू गैरघातक सैन्य सामग्रीहरू भारतबाट आपूर्ति हुने गरेको छ। नेपाली सेनाको तालिम, शिक्षा, सूचना तथा संस्थागत विकासमा भारतले निरन्तर महत्वपूर्ण सहयोग गर्दै आएको छ। दुवै देशका सैनिक अधिकारीहरू एक अर्काको देशमा तालिमका लागि आउने जाने क्रम पनि निरन्तर हुँदै आएको छ। त्यसैगरी नेपाली प्रभाभारतीय सेनामा सातवटा गोर्खा रेजिमेन्ट अन्तर्गत लगभग ४० वटा बटालियन रहेका र त्यसमा ४० हजारभन्दा बढी नेपाली वा नेपाली मूल भएका व्यक्तिहरू कार्यरत रहेका छन्।

source :annapurna post

प्रतिकृया दिनुहोस्