Saturday, December 5

प्रधानमन्त्री ओलीको घोसणा :कोरोना संक्रमितको परीक्षण र उपचार सरकारले गर्छ

October 31, 2020 144

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाईरस महामारीको वेग थामिन केही समय लाग्ने बताउनुभएको छ । कोरोना भाईरस महामारीलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको भन्दै उहाँले विषम परिस्थितिमा महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको बताउनुभयो ।

देशबासीलाई सम्बोधन गर्दै उहाँले आफ्ना मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिदाँ हुनसक्ने संभावित संक्रमणको खतरा ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दशैंको मुखमा महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको भन्दै अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको बताउनुभयो । कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो भन्दै उहाँले अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको बताउनुभयो ।

यस दायित्वलाई पूरा गर्न सरकार कुनै पनि बहानामा पछि नहट्ने भन्दै उहाँले कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभयो । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहेको बताउनुभयो ।

source : health post

प्रतिकृया दिनुहोस्