Thursday, November 26

काठमाडौंमा ६० प्रतिशतभन्दा बढी कोरोना संक्रमित सम्पर्कविहीन रहेको खुलाशा

November 1, 2020 95

काठमाडौं । काठमाडौं जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये आधाभन्दा धेरै सम्पर्कविहीन रहेका छन् । जिल्लामा अहिले भएको सक्रिय संक्रमितको ६० प्रतिशतभन्दा बढी संक्रमित सम्पर्कविहीन रहेका जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

अहिले संक्रमण समुदायस्तरमा फैलिसकेको छ । सरकारले कोरोना नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको जानकारी गराइसकेको छ । पछिल्लो समय कोरोना संक्रमित सम्पर्कमा नआउने घटना बढी देखिन थालेको छ ।

काठमाडौंमा मात्र सम्पर्कमा नभएका कोरोना संक्रमितको संख्या झण्डै ८ हजार रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार काठमाडौंमा ७ हजार ९ सय ५९ जना कोरोना संक्रमित सम्पर्कविहीन अवस्थामा छन् ।

यो संख्या काठमाडौंमा सक्रिय रहेका कोरोना संक्रमितको ६० प्रतिशतभन्दा बढी हो । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार अहिले जिल्लामा ११ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना नियन्त्रण भन्दा पनि आफू कसरी बाच्ने भन्ने मुख्य कुरा हुन थालेको चिकित्सकहरुले बताएका छन् । सहरी क्षेत्रमा मानिसहरुको बढी लापरबाही कोरोना संक्रमण समुदायमा फैलनुको मुख्य कारण भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

source: nagarikkhabar

प्रतिकृया दिनुहोस्