Wednesday, May 12

कपालमा हाँगा फाट्ने समस्याले वाक्क हुनुहुन्छ ? यस्तो छ फाट्ने कारण र घरेलु उपचार विधी

April 8, 2021 236

काठमाडौँ । कपाल फाट्ने समस्या कैयौँ महिलाले भोगिरहेका हुन्छन् । कतिपयले कपाल फाट्नुलाई कपालमा हाँगा पलाएका रूपमा पनि बुझ्छन् । तर, कपालमा अर्को हाँगा पलाउने होइन कि एउटा कपाल च्यातिएर दुई–तीनवटा बन्नु हो । चिल्लो र मुलायम कपालमा हाँगा फाट्ने समस्या दुर्लभ हुन्छ । यस्तो समस्या सुक्खा कपालमै देखिने गर्छ । धेरै नै सुक्खा भएपछि कपाल चिरिन थाल्छ । कपाल फटाउन भूमिका खेल्ने सुक्खापनका धेरै कारण छन् । मेकअप तथा हेयर एक्स्पर्ट नीरज राजभण्डारी भन्छन्स्

फाट्ने कारण
कपालमा बढी तापक्रम पर्दा सुक्खा हुने तथा फाट्ने समस्या देखिन्छ । तर, कपाल तात्ने विभिन्न कारण हुन्छन् । हेयर स्टाइल गर्ने इलेक्ट्रिक सामानको बढी प्रयोग, घाममा धेरैबेर रहनु, नुहाउँदा तातोपानीको प्रयोग गर्नुजस्ता कारणले कपालमा बढी ताप पर्छ र फाट्न थाल्छ ।

प्रदूषण र धुलोमैलोका कारण कपाल निकै सुक्खा हुन्छ । कपाल सफा नहुँदा पनि फाट्छ । धेरै चिसो मौसममा कपाल खुला राख्दा पनि सुक्खा भएर फाट्ने गर्छ ।

कपाल सफा राख्नु त पर्छ, तर सफा गर्ने नाममा हरेक दिन स्याम्पु गर्नु गलत हुन्छ । हरेक दिन स्याम्पु गर्ने कपाल धेरै फाट्छ ।

किनभने, स्याम्पुमा केमिकल हुन्छ । यस्तै स्विमिङ पुलमा धेरै जानेको पनि हाँगा फाट्ने खतरा बढी हुन्छ । स्विमिङ पुलको क्लोरिनयुक्त कडा पानीले कपाल सुक्खा बनाउँछ ।

धेरै कपाल रंग्याउँदा पनि फाट्ने समस्या निम्तिन्छ । हेयर कलरिङ र पर्म गर्ने पनि नियम र मापदण्ड हुन्छ । छिटो–छिटो कलरिङ गर्दा र फरक–फरक कलर फेरिरहँदा अत्यधिक केमिकलका कारण कपाल रुखो हुने तथा फाट्ने गर्छ ।

नियमित कपाल काट्ने तथा ट्रिम गर्ने बानी नहुनेको कपाल पनि फाट्ने गर्छ । सधैँ उही अवस्थामा छोड्दा कपाल सिमित अवधिपछि सुस्त गतिमा बढ्ने, अस्वस्थ हुने र फुस्रो हुने हुन्छ ।

कपालमा नियमित तेल नलगाउँदा पनि सुक्खा भएर फाट्छ । नुहाउनुअघि तेल लगाउन आवश्यक हुन्छ । त्यसो त नुहाएपछि चिसै कपालमा मसिनो दाँत भएको काइयो लगाउँदा पनि नकारात्मक असर देखाउँछ ।

सस्तो ब्यान्ड–क्लिप प्रयोगले पनि कपाल फटाउन भूमिका खेल्छ । यस्तै, हेयर कस्मेटिक र जेलको अत्यधिक प्रयोगले पनि यो समस्या ल्याउँछ ।

फाट्न नदिन
कपाल फाट्ने समस्याबाट जोगिन फाट्ने कारणबारे सचेत रहनुपर्छ । यसको मतलब घाममै नहिँड्ने, कलरिङ नै नगर्ने भन्ने होइन । यी काम गर्दा असर कम हुनेतर्फ ध्यान दिनुपर्छ । प्रदूषण र घाममा हिँड्दा कपाल छोपेर असरबाट बच्न सकिन्छ । उही कपालमा पटक–पटक कलरिङ गर्नुहुँदैन । एकपटक कलरिङ गरेको कपाल ट्रिम गर्दै जाँदा सकिएपछि नयाँ भर्जिन कपालमा कलरिङ गर्नुपर्छ । कलरिङ गरेपछि हेयर ट्रिटमेन्ट र आयल मसाज गरिरहनुपर्छ । महिनामा दुईपटक ट्रिटमेन्ट आवश्यक पर्छ । हेयर स्पा सबैभन्दा उपयुक्त हुन्छ । स्पामा हेयर ट्रिटमेन्टको प्याकेज नै हुन्छ । चिसो कपाल कोर्दा मोटो दाँत भएको काइयो प्रयोग गर्नुपर्छ । कमसेकम दुई महिनामा हेयर कटिङ या ट्रिमिङ गर्नुपर्छ । हरेक हप्ता आयल मसाज गर्नुपर्छ ।

फाटेको भए घरमै उपचार
फाटेको कपाललाई फेरि जोड्न सकिँदैन । तर, च्यातिएर फिँजारिँदा नराम्रो देखिएको कपाललाई घरमै प्याक प्रयोग गरेर मुलायम बनाउन सकिन्छ । फाटेको कपाल त बिस्तारै ट्रिम गर्दै गएर हटाउने हो अनि नयाँ कपाल फाट्न नदिन सजग रहने हो । फाटेको कपालका लागि स्याम्पुमा अन्डा र पानी मिसाएर बनाएको प्याक ३०–४५ मिनेटसम्म कपालमा लगाएर त्यसपछि सादा पानीले पखाल्न सकिन्छ । यो उपाय हप्तामा एकपटक अपनाउँदा केही हप्तामै सकारात्मक प्रभाव देखिन्छ ।

सुन्तलाको रसमा केरा र अन्डा मिसाएर बनाएको प्याक पनि फाटेको कपालका लागि उपयोगी हुन्छ । यो प्याक पनि हरेक हप्ता ३०–४५ मिनेट कपालमा राखेर सादा पानीले पखाल्न सकिन्छ ।

दही र पाकेको मेवा बराबर मात्रामा मिसाएर बनाएको प्याक लगाउँदा पनि कपाल नरम र मुलायम हुन्छ । फाटेको कपाललाई व्यवस्थित गर्न यो प्याक उपयोगी हुन्छ ।

क्यास्टर आयलमा ओलिभ आयल या तोरीको तेल मिसाएर हरेक हप्ता मसाज गर्ने र आधा घन्टापछि स्याम्पुले पखाल्ने गर्दा पनि फुस्रो कपाल मुलायम बन्छ ।

कपालका लागि बियर पनि निकै उपयोगी हुन्छ । फाटेको कपाल बियरले भिजाएर आधा घन्टापछि सादा पानीले पखाल्ने गर्दा राहत मिल्छ । सामान्य कपालमा पनि बियर प्रयोग गर्नु राम्रो हुन्छ ।

 

प्रतिकृया दिनुहोस्