बडी मास इन्डेक्स (बीएमआई) शरीर र तौलको अनुपात थाहा पाउने सूचक हो । यो सूचकले व्यक्तिको स्वास्थ्य र तन्दुरुस्तीबारे
जानकारी दिन्छ । बीएमआई शरीरको तौल अनुपात जनाउने अंक हो । शरीरको तौल स्वास्थ्यका लागि जोखिमपूर्ण छ कि छैन भन्ने
थाहा पाउन बीएमआई पत्ता लगाउनु जरुरी हुन्छ । मोटोपनले मुटुसम्बन्धी रोग, डायबिटिज, क्यान्सर आदिको खतरा बढाउँछ ।
सामान्यतयाः बीएमआई बढी भएको व्यक्तिमा मोटोपन बढी हुन्छ भने कम भएको व्यक्ति तुलनात्मकरुपमा स्वस्थ हुन्छ । तर,
बीएमआई १८ दशमलव ५ भन्दा कम भएमा अन्डरवेट मानिन्छ । १८ दशमलव ५ देखि २४ दशमलव ९ अंकसम्म बीएमआई हुने
व्यक्तिको तौल अनुपात सामान्य मानिन्छ । त्यसैगरी २५ देखि २९ दशमलव ९ अंकसम्म हुनेलाई ओभरवेट र ३० भन्दा माथि
बीएमआई हुनेमा मोटोपन बढी हुन्छ ।
बीस वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिको शरीर र तौलको अनुपात सही छ कि छैन भन्ने थाहा पाउन बीएमआई पत्ता
लगाइन्छ । विज्ञहरुका अनुसार यस्तो अनुपातको तुलना समान उमेर समुहका पुरुष र महिलामा एकै किसिमले हुने गर्दछ । अर्थात्
महिला र पुरुषको बिएमआई गणना गर्ने तरिका एउटै हो ।
बीएमआई कसरी थाहा पाउने ?
बीएमआई थाहा पाउन शरीरको तौल पाउन्डमा र उचाई इन्चमा लिएर हिसाब गर्नुपर्दछ । शरीरको तौल (पाउन्डमा) जनाउने
संख्यालाई ७०३ ले गुणा गरी त्यसलाई उचाईको वर्गले भाग गर्नुपर्दछ ।
बीएमआई = [ तौल (पाउन्डमा) x ७०३] ÷ [ उचाई इन्चमा (सोही अंकले गुणा गरी राख्ने) ]
उदाहरणको लागि तौल ६५ केजी र उचाई ५ फिट ४ इन्च छ भने यसप्रकार बीएमआई पत्ता लगाउन सकिन्छ ।
बीएमआई = [(६५ X २.२०) X ७०३ ] ÷ [६४ X ६४]
*१ किलोग्राम = २.२० पाउन्ड
बीएमआई = १००५२९ ÷ ४०९६= २४.५४
प्रतिकृया दिनुहोस्