१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।
केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।
तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो ।
महानगरपालिकाले पुन, सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए । सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले मेयरसापको आदेश भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।
महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ । हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ ।
सार्वजनिकस्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ । onlinekhabar बाट साभार,
प्रतिकृया दिनुहोस्