Saturday, September 25

अढाई वर्षदेखि लाखौँ खर्च गरी बचाइरहेका श्रीमतीको निजी अस्पतालले लखेटेपछि गयो ज्यान

May 12, 2021 387

काठमाडौँ । वीर अस्पतालको बीच भागबाट अघि बढेर पश्चिमतिर लाग्दा अर्को ढोका आउँछ । अनि उत्तर फर्कंदा अक्सिजन सिलिन्डर राखिएको र अर्को बन्द गरिएको कोठामा पुगिन्छ । त्यहाँ भित्र ११ वटा शव राखिएको छ, कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको ।

उता थोरै शवलाई निकाल्न नमिल्ने भएकाले कोही आफन्तहरु शव धेरै हाेला र आफ्नाे मान्छेकाे शव निकाल्न पाइएला भनेर ३/४ दिनदेखि यही कुरेर बसिरहेको बताउँदै थिए ।

कोठाको ढोकै अगाडि नेपाली सेनाको एक टोली विभिन्न कागजहरू हेर्दै मिलाउँदै थियो । त्यो भन्दा बाहिर ग्राउण्डमा मानिसहरुको हल्का भीड छ । कोही फलामको कुर्सीमा कोही भुइँमै त कोही उभिएर गफिँदै थिए ।

उभिएका सबैका आँखा अनिँदाेले भरिपूर्ण जसरी असान्त देखिन्छन् । उहाँहरु थिए- कोरोनाबाट आफन्त गुमाएकाहरु । आफन्तको शव कतिबेला बाहिर निकाल्ने र अन्त्येष्टि गर्ने भन्दै उहाँहरु कुरिरहनुभएको थियो ।

एकप्रकारकाे शाेक अनि हताश र निराश मानसिकता झल्किन्थ्याे उनीहरूकाे अनुहारमा । त्यसमध्ये श्रीमती गुमाएको पीडामा उदास भएर बसिरहेका एक वृद्ध (धनबहादुर थापा) । जाे अढाई वर्षअघिदेखि नेपालगञ्जबाट श्रीमतीको किड्नीको उपचार गर्न काठमाडौं आएको तर कोरोनाले गर्दा आइतबार उनको ज्यान गएको सुनाउनुभयो ।

निजी अस्पतालले लखेट्दा ज्यान गयाे

नेपालगञ्जबाट आएर अढाई वर्षदेखि काठमाडौंमा श्रीमतीको उपचार गरिरहेको तर महामारीका बेला अस्पतलले लखेटिदिँदा श्रीमतीको ज्यान गएको उहाँले बतउनुभयो ।

खासगरी निदान अस्पतालले धोका दिएको उहाँले सुनाउनुभयाे । श्रीमतीका लागि लाखौँ लगानी गर्दा पनि अन्तिम अवस्थामा आएर अस्पतालले अक्सिजन नभएको भन्दै राति १२ बजे लखेटेको दुःखेसाे पाेख्नुभयो । किड्नीको नियमित डाइलोसिस गराउनु पर्नेमा केही समस्या भएपछि बिरामीलाई कोरोनाँग मिल्ने लक्षण देखिँदा अस्पतालले गैरजिम्मेवारीपूर्वक निकालिदिएको रहेछ ।

धनबहादुर थापा\श्रीमती गुमाएका,पीडित

निदान अस्पताललाई राति एउटा खाट त दिनुहोस् भनेर अनुरोध गर्दा पनि अस्पतालले लखेटिछाडेको भन्दै उहाँले गहभरि आँसु पार्नुभयो । अस्पतालले त्यसअघि आफूलाई श्रीमतीको किड्नी प्लान्ट एक सातामै गरिदिने वचन दिएको पनि उहाँले सुनाउनुभयो ।

मलिन स्वरमा उहाँले भन्नुभयो, ‘श्रीमतीको उपचारको लागि हामी काठमाडौं आएको अढाइ वर्ष भयो । प्राइभेट अस्पताल निदान अस्पतालबाट अहिले धोका खाइयो । श्रीमतीको किड्नीको उपचार लाखौँ खर्चेर अढाई वर्षदेखि गर्दै आएका थियौँ । डाक्टरहरुले मलाई एक सातामा किड्नी प्लान्ट गरिदिन्छौँ पनि भन्नुभएको थियो । तर जब उस (श्रीमती)लाई ज्वरो आएर गाह्रो भयो, अस्पतालले हामीलाई राति १२ बजे निकालिदियो । अस्पतालसँग कत्ति नैतिकता र मानवता थिएन जस्तो लाग्छ मलाई । उसलाई पनि अढाई वर्षदेखि लगानी गरेका थियौँ । अस्पतालको लागि उसले पनि आफ्नो दायित्व निभाउनुपर्थ्यो । जबकि हामीलाई एक रातको लागि एउटा खाटसम्म दिन मानेन । अक्सिजन दिएर एक रात मात्रै बस्न दिनुहोस्, हामी रातको ४० हजार दिन्छौँ भन्दा पनि उसले राति १२ बजे लखेट्यो… ।’

प्राइभेट अस्पतालहरूको यस्तो व्यवहारले सर्वसाधारण जनताका लागि राम्रो नहुने उहाँ बताउनुहुन्छ । त्यहाँबाट लखेटिएपछि आफूहरु वीर अस्पतालमा भर्ना भएको उहाँले बताउनु भयो ।

वीर अस्पतालमै दुईथरी व्यवहार

यता वीर अस्पतालमा भने केही सहज भएको तर भीड धेरै भएको र जनशक्ति कम भएकोले हाेला पूर्ण सन्तुष्टि हुने अवस्था भने नरहेको उहाँ बताउनुहुन्छ । चिकित्सकहरुको राम्रो पनि नराम्रो व्यवहार दुवै वीर अस्पतालमा पाएको उहाँ बताउनुहुन्छ ।

श्रीमतीलाई वीर अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गर्दा आफू अत्यधिक खुसी भएको उहाँले सुनाउनुभयो । इमरेजेन्सीमा चिकित्सकहरुले राम्रो व्यवहार गरेको र काम गर्ने तरिका एकदमै मन परेको उहाँले बताउनुभयो ।

चिकिकत्सकहरुले भर्ना भएको बिरामीहरु सानो-ठूलो या उँच-नीत जात केही नसोधी बिरामी पनि आफैँले हेर्ने गरेको देख्दा उहाँलाइ राम्राे लागेकाे थियाे । आफू ३ दिन इमरजेन्सीमा बस्दा पीसीआर गराउने, औषधि दिलाउने र बिरामीको सबै रेखदेख डाक्टरले नै गरेकोले श्रीमतीको स्वास्थ्य सुध्रिनेमा उहाँ आशावादी हुनुहुन्थ्यो । तर इमरजेन्सीबाट वार्डमा ल्याएपछि भने चिकित्सकहरले राम्रोसँग रेखदेख नगरेको उहाँको आरोप छ । एकै अस्पतालका डाक्टरले पनि दुइथरी व्यवहार गर्दा रहेछन् ।

उहाँले भन्नुभयो, ‘यहाँ म एउटा कुरामा खुसी छु । जब हामी इमरजेन्सीमा पस्यौँ । हामी एकदम खुसी र हर्षित भयौँ । यहाँका डाक्टरहरुको व्यवहार एकदम राम्रो थियो । काम गर्ने तरिका एकदम राम्रो । ठूलो-सानो, धनी-गरिब केही नभन्ने उहाँहरु । सुई, पीसीआर सबै उहाँहरुले गर्नुभयो । त्यहाँ हुँदा हामीलाई बाँच्छौँ जस्तो लागेको थियो । जब हामीलाई वार्डमा सारियाे, त्यहाँ भने निकै लापरवाही भयो । औषधि दिने, खाए-नखाएकाे साेध्ने तर हेरचाह भने नगर्ने । त्यही कारणले स्थिति नराम्राे हुनगयो ।’ अन्ततः उहाँले श्रीमती गुमाउनुभयाे ।

‘चिकित्सकको लापरवाहीले मृत्यु’

त्यस्तैगरी अर्का युवक आफन्त गुमाएको पीडामा रुमल्लिएको सोझै अनुमान लगाउन सकिन्थ्यो । उहाँले चिकित्सकको लापरवाहीले आफन्तको मृत्यु भएको बताउनुभयाे । आफूले दक्षिणकालीबाट काकीलाई उपचारका लागि वीर अस्पतालमा ल्याएको तर कोरोनाका कारण उहाँको मृत्यु भएको उहाँले सुनाउनुभयो ।

दिलिप गुरुङ \काकी गुमाएका, पीडित

विगत १२ वर्षदेखि दमबाट ग्रसित काकीलाई बैशाख १७ गते वीरमा भर्ना गरेको सुनाउँदै उहाँले भर्ना भएयता २५ गतेसम्म काकीको अवस्था सामान्य रहेकै अवस्थामा कोरोना टेष्ट गराएको बताउनुभयाे । त्यसक्रममा काकीको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । तैपनि काकीको अवस्था त्यति हुँदा पनि सामान्य थियो । २५ गते आफू अस्पतालमा आएर काकीसँग आफूले २ घण्टासम्म कुराकानी गरेर राति ६ बजे घर गएको उहाँको भनाइ छ ।

३/४ दिन अघिबाट सँगै रोटी र खाना खाएको तर सोही राति डाक्टरले उहाँका लागि औषधि सिफारिस गरेपछि खुवाउँदा सिकिस्त भएको उहाँले बताउनुभयो । औषधि दिएको २४ घण्टाभित्रै काकीको ज्यान गएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काकीलाई दमको रोग थियो, विगत १०-१२ वर्षअघिदेखि । उहाँलाई १७ गते अलिक च्याप्यो र हामीले वीरमा ल्याएका हौँ । उहाँ २५ गतेसम्म नर्मल हुनुहन्थ्यो । २४ गतेतिर उहाँको कारोना टेष्ट गर्नुभएछ । २५ गते दिउँसो ३ बजे आएर म ६ बजेसम्म गफ गरे निस्केको हो । त्यो समय पनि उहाँ नर्मल हुनुहुन्थ्यो । ३-४ दिन अगाडिदेखि उहाँ र म सँगै रोटी खाँदै आएका थियौँ । त्यो दिन उहाँले वाक्क भएँ भनेर भात खाएँ भन्दै हुनुहुन्थ्याे । तर सोही राति डाक्टरले औषधि दिएपछि काकीको अवस्था गम्भीर भएछ ।’

त्यो दिन काकी नर्मल अवस्थामै भएकोले उहाँकै छोरा भाईलाई छोडेर आफू घर गएको उहाँले भनाइ छ । तर बिहान भाइले आमाले औषधि खाएपछि सिकिस्त भएर बोल्नै नसक्ने अवस्थामा पुगेको भन्दै फोन गरेको सुनाउनुभयाे ।

उहाँले भन्नुभयो, ‘त्यही दिन डाक्टरले औषधि लेखिदिनु भएछ । कोभिडको हो कि के को हो । त्यसपछि मैले औषधि लेखिनिुभएछ कि के लेखिदिनुभएछ भनेर त्यही रहेका सिस्टरलाई सोधेँ । उहाँले औषधि लेखेकाे रहेछ, तर यहाँ छैन, उताबाट ल्याइदिन्छु भनेर ल्याउनुभयो । के थियो, थाहा छैन । कोभिड चाहिँ पोजेटिभ देखिएछ । त्यसपछि म हिँडेँ, उहाँको छोरा भाइ बसेको थियो उहाँसँग । औषधि दिएछ उसले । भोलिपल्ट भाइले फोन गरेर भन्यो- दाइ, आमा ढल्नुभयो, बेलुकाबाट के भयो भयो सिकिस्त हुनुहुन्छ । झाडा लाग्ने भयो भनेर भन्यो त्यसपछि उहाँको निधन भएको हो ।’

चिकित्सकहरुले सिकिस्त भएर अन्तिम अवस्थामा आईसीयू पाए बिरामी बाँच्ने बताएको सुनाउँदै उहाँले भन्नुभयाे, ‘तर आइसीयू नपाएकोले पनि हाेला, काकीको मृत्युसम्मको स्थिति देख्नुपर्याे ।’

‘औषधिबारे भन्न मिल्दैन’

काकीकाे निधन भइसकेपछि पनि आफूले चिकित्सकलाई के दिनुभएको थियो भनेर सोध्दा आफूहरुलाई थाहा नहुने भन्ने जवाफ दिएको ती युवकले बताउनुभयो । उल्टै तपाईंको भाइलाई के दियौ भनेर सोध्नु भन्ने आग्रह गर्दै आफूहरुले औषधि दिएकोबारे भन्न नमिल्ने जवाफ चिकित्सकले दिएको उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘के दिनुभएको थियो थाहा नै भएन । हिजो बेलुका पनि हाम्रो बिरामी कसरी त्यस्तो भयो भनेर सोधेँ । भाइलाई थाहा छ के औषधि चलाउनुभएको भनेर, हामीले भन्न मिल्दैन भनेर भन्नुभयो । भाइलाई के थाहा हुनु र, ऊ अलिक अनएजुकेट पनि हो । अब त्यस्तै भयो… ।’

उहाँले कोरोनाभन्दा अरु बिराम नै नभएको जसरी अस्पतालले बिरामीलाई लिन नहुने बताउनुभयो । निजी अस्पतालभन्दा बरू वीर अस्पताल सरकारी भएकाले भीडै भए पनि बिरामी भर्ना चाहिँ लिने गरेकाे उहाँकाे अनुभव छ । तर कोरोनाको रिपोर्टका लागि ३ दिन कुर्नुपरेकाे र उचित व्यवस्थापन नभएकाे जस्ताे लागेकाे पनि बताउनुभयाे ।

उता अस्पताल प्रशासनले भने काेराेना संक्रमितकाे संख्या अत्यधिक भएकाेले व्यस्थापनमा समस्या भएकाे बताएकाे छ । यद्यपि अहिले अधिक संक्रमितलाइ नजिकै रहेकाे ट्रमा सेन्टरमा राखेर उपचार राइरहँदा केही सहज भइरहेकाे पनि अस्पतालले जनाएकाे छ ।

तस्बीर : महेश्वर के.सी.\ न्यूज २४

प्रतिकृया दिनुहोस्