Saturday, December 5

भारतीय सेनाध्यक्ष नरवणेको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका टोली खटायो

November 4, 2020 199

काठमाडौँ — नेपाल, भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको बुधबारबाट हुने नेपाल भ्रमणलाई लक्ष्य गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

भ्रमणमा सुरक्षाका लागि नेपाली सेनाका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका टोली खटाइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने – बानेश्वर – माइतीघर– थापाथली – त्रिपुरेश्वर, सोल्टी होटल, सैनिक मुख्यालय भद्रकाली, राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्री निवास र पशुपतिनाथ क्षेत्रको रुटमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागितामा केही दिनअघि बसेको सुरक्षा बैठकले नरवणेको भ्रमणका क्रममा विशेष सुरक्षा अपनाउने र सम्भावित विरोधका कार्यक्रमलाई निस्तेज बनाउन चारवटै निकायलाई परिचालन गर्ने निर्णय गरेका थिए । प्रधानसेनापति थापाको निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी को दर्ज्यानी चिन्ह ग्रहण गर्न नरवणे काठमाडौं आउँदै छन् । नरवणेलाई स्वागत गर्न बलाधिकृत रथी प्रभुराम शर्मा त्रिमानस्थल जाने तय भएको छ । सेनाको आग्रहपछि आवागमन रुटमा प्रहरीले सादा पोसाकका प्रहरीको तैनाथी बढाएको छ ।

सशस्त्र प्रहरी बलले पनि गस्ती थप बढाएको छ । अनुसन्धान विभागको टोली पनि सूचना संकलनमा खटिएका छन् । पछिल्लो समयको सीमा विवादपछि भारतबाट कुनै पनि अधिकारीको नेपालमा औपचारिक भ्रमण भएको छैन । गएको कात्तिक ५ गते भारतले बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्त गोयललाई अनौपचारिक संवादका लागि काठमाडौं पठाएको थियो ।

नरवणेको भ्रमण सुरक्षाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी बस्ने सोल्टी होटल, सोल्टीबाट जंगीअड्डा तथा शीतलनिवास र बालुवाटार क्षेत्रका रुटमा चारवटै सुरक्षा निकायले सादा पोसाकका जनशक्ति परिचालन गरेका छन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयको आग्रहमा करिब ४ सय प्रहरीलाई नरवणेको सुरक्षाका लागि खटाएको छ । सम्भावित विरोध तथा नाराजुलुस हुन सक्ने भन्दै त्यसप्रति पनि विशेष सावधानी अपनाउन सेनाले प्रहरीलाई आग्रह गरेको छ ।

एक सुरक्षा प्रमुखले भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणले दुई देशबीचको संवादहीनता अन्त्य गरेको र यसबाट आगामी दिनमा कूटनीतिक संवाद अघि बढाउन मद्दत पुग्ने बताए । दुई देशबीच औपचारिक संवादहीनता भएको स्थितिमा हुन लागेको भारतीय सेनाध्यक्षको भ्रमणले सकारात्मक सन्देश दिएको छ, यसलाई फलदायी बनाउनुपर्छ, ती सुरक्षा प्रमुखले कान्तिपुरसँग भने, पाहुना आउँदा विरोध होइन, विवेक र मर्यादा कायम हुनुपर्छ, त्यहीअनुसार सुरक्षा व्यवस्थापन मिलाइएको छ ।

विगतमा भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका क्रममा सेनाबाट मात्रै समग्र सुरक्षा व्यवस्थापन हुने गरेकामा दुई देशबीच बिग्रिएको सम्बन्धका कारण यस पटक चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ । प्रहरीले अगाडि र पछाडिको स्कर्टिङ जिम्मा लिएको छ ।

बुधबार, कार्तिक १९, २०७७मा प्रकाशित गरिएको

source: tajakhabernepal

प्रतिकृया दिनुहोस्